राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेताहरूले पूर्वराजा ज्ञानेन्द्र शाहसँग सामूहिक भेट गरेका छन् । बुधबार भैरहवा पुगेर राप्रपाका नेताहरूले पूर्वराजा शाहसँग कुराकानी गरेका हुन् ।
पूर्वराजासँग छलफल गर्न राप्रपा नेताहरू काठमाडौंबाट बुधबार भैरहवा पुगेका थिए । देशको परिस्थिति र समसामयिक विषयमा उनीसँग हामीले भलाकुसारी गरेको राप्रपा नेताहरुले बताएका छन् । पूर्वराजा र राप्रपा नेताहरुबीच होटलमा करिब डेढ घन्टा कुराकानी भएको बताइएको छ ।
पूर्वराजा शाहले देशको परिस्थिति कस्तो छ भन्नेबारे राप्रपा नेताहरूसँग सोधेका थिए । अहिलेको परिस्थितिबारे राप्रपाका नेताहरुले राजाधारणा बुझ्न खोजेको पनि बताइएको छ ।
राजसंस्था, हिन्दुराष्ट्र पुनर्स्थापना र संघीयता खारेजीका लागि घोषणा गरेको आन्दोलनबारे पनि पूर्वराजालाई जानकारी गराइएको नेताहरुले बताएका छन् । नेताहरुले सबै राजावादी र राष्ट्रवादीलाई एक ठाउँमा ल्याएर अघि बढ्ने बारे जानकारी गराइएको बताइएको छ ।