२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

त्रिवि उपकुलपतिमा दरखास्त दिन सबैलाई खुला गर्न प्रधानमन्त्रीको निर्देशन



त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दरखास्त दिनका लागि विश्वविद्यालयको तीन पदाधिकारी पदमा तीन वर्ष काम गरेको अनुभव हुनु पर्ने प्रावधानको व्यापक अलोचना भएपछि प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले सच्याउन निर्देशन दिएका छन् ।

दाहालले शुक्रबार शिक्षामन्त्री अशोककुमार राईलाई कार्यकक्षमा बोलाएर उपकुलपतिमा दरखास्त दिन पूर्वपदाधिकारीको अनुभव नचाहिने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री दाहालले विश्वविद्यालयको सुधारका निम्ति संसारभरि रहेका नेपालीमध्येबाट योग्य मान्छे आओस् भनेर खुला प्रतिस्पर्धा गराउन चाहेको धारणा राखेको बताइएको छ ।

उनको सचिवालयका अनुसार प्रधानमन्त्री दाहालले शुक्रबार छनोट तथा सिफारिस समितिले विज्ञापनमा राखेका व्यवस्थाहरुमा असहमति राखेका हुन् । सूचनामा राखिएको अनुभवको त्यस्तो प्रावधानले योग्य मान्छेहरूका लागि ढोका बन्द हुने भन्दै तत्काल सच्याएर अर्को सूचना जारी गर्न प्रधानमन्त्री दाहालको निर्देशन दिएका हुन् ।

शिक्षामन्त्री राई संयोजकत्वको त्रिवि पदाधिकारी छनोट तथा सिफारिस समितिले शुक्रबार दरखास्त मागेको थियो । सो सूचनामा ‘विश्वविद्यालयको तीन पदाधिकारीमध्ये कुनै एक पदमा कम्तिमा तीन वर्ष काम गरेको (वर्ष, महिना र दिनसमेत) व्यहोरा खुलेको विवरण प्रमाणित प्रतिलिपि’ पेश गर्नुपर्ने भन्ने उल्लेख थियो ।

प्रधानमन्त्री दाहालले विज्ञापनमा कसैलाई पनि बन्देज हुने गरी व्यवस्था नगर्न र देश तथा विदेशबाट समेत प्रतिष्पर्धा गर्न सक्ने गरी फराकिलो मापदण्ड राख्न निर्देशन दिएका हुन् ।

प्रकाशित मिति : २० पुस २०८०, शुक्रबार  ६ : ०८ बजे