सर्लाहीको बरहथवामा भएको झडपका क्रममा एक आन्दोलनकारीको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको छ । बरहथवा नगरपालिका-६ का ३० वर्षीय जयशंकर साहको मृत्यु भएपछि स्थानीय प्रशासनले कार्फ्यू आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी कोमल प्रसाद धमलाले एक सूचना जारी गर्दै कर्फ्यू लगाएको बताएका छन् । उनका अनुसार बेलुका ५:३० बजेदेखि भोलि बिहान ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यू आदेश जारी गरिएको हो ।
कर्फ्यू लागेसँगै बरहथवा नगरक्षेत्र (उत्तर सोतीरचोर्निया पुल, पश्चिम हजरिया जाने बाटोको नहर, दक्षिणमा हनुमान मन्दिर र पूर्वमा सीतापुर जाने बाटो ब्रह्मस्थान) सिमा क्षेत्र भित्र कसैले आजवतजावत गर्न , भेला हुन र बाहिर हिलडुल गर्न पाउने छैनन् ।
बरहथवा ६ स्थित प्राथमिक स्वास्थ्य केन्द्र स्तरोन्नतिका लागि मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्ने नगर कार्यपालिकाको निर्णय कार्यान्वयन गर्न माग गर्दै नेपाली कांग्रेससहितका दलले गरेको प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको थियो ।
आन्दोलनकारीले नगरपालिका कार्यालय तथा नगरप्रमुख कल्पनाकुमारी कटुवालको घरमा ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले नियन्त्रणमा लिन बल प्रयोग गरेको जनाइएको छ ।