४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

प्रदेश खारेजीको माग गर्दै आन्दोलन घोषणा गरेको राप्रपा विष्ट नै कोशी प्रदेशको सभामुख



संघीयताको विरोध गर्दै प्रदेश संरचनाको विरोध गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद अम्बरबहादुर विष्ट सर्वसम्मत कोशी प्रदेशको सभामुख चयन भएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा उपसभामुख सिर्जना दनुवारले विष्ट सर्वसम्मत सभामुखमा चयन भएको घोषणा गरिन् ।

तत्कालीन सभामुख बाबुराम गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेशको सभामुख पद रिक्त थियो । प्रदेशसभा सचिवालयले मंगलबार संविधानको धारा १८२ तथा कोशी प्रदेशसभा नियमावली २०७४ को नियम ७ बमोजिम कोशी प्रदेशसभाको सभामुख पदको निर्वाचनको कार्यतालिका सार्वजनीक गरेको थियो । सभामुख पदका लागि विष्टको मात्र उम्मेदवारी दर्ता भएपछि उनी सर्वसम्मत भएका हुन् ।

प्रदेशसभा बैठकमा राप्रपा संसदीय दलका नेता तथा प्रस्तावक भक्तिप्रसाद सिटौला तथा समर्थक प्रेमरज थाम्सुहाङले विष्टको एकल उम्मेदवारी परेको भन्दै निर्वाचित गर्न प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव एकल रहेको भन्दै उपसभामुख दनुवारले विष्ट निर्विरोध निर्वाचित भएको घोषणा गरेकी हुन् ।

विष्टलाई सत्ता गठबन्धनसहित प्रतिपक्ष एमाले संसदीय दलले पनि समर्थन गरेपछि उनी निर्विरोध चयन भएका हुन् । झापा गौरदहका ७० वर्षीय विष्ट समानुपातिक तर्फका प्रदेशसभा सदस्य हुन् । विष्टले मंगलबार नै प्रदेश प्रमुख परशुराम खापुङबाट पद तथा गोपनियताको शपथ लिए ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  ५ : ४६ बजे