११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

रामबहादुर बम्जनसँग कहाँबाट आयो यतिका धन सम्पति



बलात्कार, हत्या र बेपत्ता बनाएको आरोपमा मंगलबार पक्राउ परेका रामबहादुर बम्जनको घरबाट बरामद भएको धन सम्पतिले सबैलाई चकित बनाएको छ । उनको बिरुद्ध पाँच परिवारले उजुरी हालेपछि फरार रहेका बम्जनलाई पक्राउ गरेपछि गरिएको खनतलासीको क्रममा करोडौं रुपैयाँ भेटिएको हो ।

‘तपस्वी’, ‘लिटिल बुद्ध’ जस्ता उपनाम पाएका बम्जनले हलखोरिया र सिन्धुलीको आश्रममा रहेका आनी तथा सहयोगीहरुलाई बलात्कार, हत्या र बेपत्ता पारेको भन्ने उजुरी परेको थियो । उजुरी परेपछि उनी लामो समयदेखि फरार रहेका थिए । उनलाई मंगलबार बुढानिलकण्ठस्थित आफ्नै घरबाट पक्रा गरिएको हो । उनलाई बुधबार प्रहरीले सार्वजनिक गरेको हो ।

बम्जनको घरमा खानतलासी गर्दा ३ करोड ३ लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १६ देशका विदेशी मुद्रा बरामद गरेको प्रहरीले जानकारी दिए । ब्युरोको टोली मंगलबार उक्त घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए । बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत प्रहरीले सार्वजनिक गरेको थियो ।

बम्जन लामो समय बाराको हलखोरियास्थित जंगलमा बसेका थिए । उनले त्यहाँ आफू तपस्यारत रहेको बताउँदै आएका थिए । पछिल्लो समय भने बम्जन सिन्धुलीको कमलामाई नगरपालिका–८, पैरेनीस्थित २० रोपनीभन्दा बढी जंगल अतिक्रमण गरेर आश्रम बनाई बस्दै आएका थिए । ब्युरोको टोलीले उनलाई पक्राउ गर्न ४ असार २०७७ मा छापा मारेको थियो । तर त्यतिबेला उनी प्रहरीको टोली पुग्नुअघि नै भागिसकेका थिए ।

प्रहरीले २०७६ पुसमा पनि सिन्धुपाल्चोकस्थित इन्द्रावती–६, बाँडेगाउँस्थित तोड्के जंगलमा रहेको आश्रममा छापा हानेको थियो । प्रहरीले त्यहाँ बेपत्तामध्येका एक हेटौंडाका सञ्चलाल रुम्बाको हत्या भएको हुन सक्ने आशंका गरेको थियो । प्रहरीले करिब ८० रोपनी क्षेत्रमा फैलिएको आश्रमको एक स्थानमा कमलो माटो भेटेर उत्खनन गर्दा ९ वटा नुनको प्याकेट भेटेको थियो । शव गलाउन नुनको प्रयोग गरिएको हुन सक्ने आशंका गरे पनि थप प्रमाण फेला परेनन् ।

बम्जनले ५ करोड रुपैयाँको गाडी किन्दै थिए

अनुयायीहरूबाट करोडौं पैसा उठाएको आरोप झेलिरहेका उनले आफ्नो यात्राका क्रममा टोयोटा फर्च्युनर गाडी चढ्ने गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जनाएको छ। सीआईबीका अनुसार उनले पछिल्लोपटक प्रदेश-३-०१ ०२४ च ६७२९ नम्बरको तुलाराम तामाङको नाममा रहेको सेतो टोयोटा फर्च्युनर कार चढ्ने गरेका थिए । त्यसैगरी उनको प्रयोगका लागि सेतो रङको ल्यान्ड क्रुजर जेडएक्स पनि उपलब्ध हुँदै थियो ।

बम्जनका लागि ललितपुर महानगरपालिका-२२ बुङ्मती बस्ने बौद्ध श्रवन धर्म संघ ललितपुका अध्यक्ष ४५ वर्षीय पनित महर्जनको नाममा धुम्बाराहीस्थित युनाइडेट ट्रेडर्स सिन्डिकेट प्रालिको शोरुमबाट ५ करोड रुपैयाँमा उक्त कार खरिद गर्न ३ करोड भुक्तानी पनि भइसकेको सीआईबीले जनाएको छ ।

बम्जनको सुविधाका लागि क्रस फायर, ३९० सीसीको केटीएम ड्युक, यामाहा रे जेड आर स्कुटरसहित चारवटा मोटरसाइकल पनि प्रयोग हुने गरेको खुलेको छ ।

प्रकाशित मिति : २५ पुस २०८०, बुधबार  ६ : ५४ बजे