रुसी सेनामा भर्ती भएका लमजुङका युवक साजन गुरुङको पनि मृत्यु भएको छ । लमजुङको दुधपोखरी गाउँपालिका-१, घमारचोकका ३२ वर्षीय गुरुङको पुस १६ गते भिडियो कलपछि परिवारसँग सम्पर्क हुन नसकेको बताइएको छ ।
मृतकका बुबा श्रीमान गुरुङका अनुसार पुस १६ गते राति ८–९ बजेतिर अन्तिम भिडियो कल भएको र त्यसपछि सम्पर्क हुन नसकेकोमा एकाएक छोराको मृत्यु भएको खबर आएको बताएका छन् । रुसी सेनामा भर्ना भएका साजनका साथीहरूले जर्मनमा रहेका साजनका भाइ कुमारलाई खबर पठाएपछि कुमारले परिवारलाई साजनको मृत्यु भएको खबर पठाएको बताइएको छ ।
रोजगारीका लागि असोजमा माल्टा जाने भनेर गएका साजन रुसी सेनामा पुगेको परिवारलाई पछिमात्रै थाह पाएका थिए । मृतक साजनका श्रीमती र एक छोरा छन् ।
साजन नेकपा (माओवादी केन्द्र) को दुधपोखरी गाउँपालिकाको वाइसीएल अध्यक्ष समेत रहेका बताइएको छ ।