स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले केन्द्रीय अस्पतलाहरूका लागि तत्काल १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको बताएका छन् ।
मंगलवार संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालयबाट सो दरबन्दीको प्रस्ताव स्वीकृत नभए पाँच सय शय्याको केन्द्रीय अस्पतालहरू बन्द हुने अवस्था रहेको समेत स्पष्ट पारे ।
हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ बेडको अस्पताल सञ्चालन लागि पनि स्वास्थ्य मन्त्रालयले दरबन्दी थपका लागि पठाइएको प्रस्ताव अर्थ मन्त्रालयले स्वीकृत गर्नैपर्ने सचिव पोखरेलको भनाई थियो ।
उनले सो दरबन्दी स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पहल गरिदिन पनि समितिका सदस्यहरूसँग आग्रह गरे । सचिव पोखरेलले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित ५ जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको पनि बताए । त्यसैगरी नीतिमा अस्पतालहरू बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खोल्ने भनिएपनि कार्यान्वयन गर्नसक्ने अवस्था नरहेको उनले बताए ।
‘अर्को एउटा नीतिमा आएको हामीले नसक्ने काम पनि छ । प्रत्येक स्थानीय तहमा विशेषज्ञ ५ जना डाक्टर पठाउनु भन्ने पनि नीतिमा आयो । जुन सम्भव छैन । बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म अस्पताल खोल्नु भन्ने पनि कसरी सम्भव होला’ उनले भने ।