राष्ट्रियसभा सदस्यका लागि बिहीबार भएको चुनावमा स्वतन्त्र मेयरहरुले मतदान गरेनन् । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपी हमालले मतदान नगरेका हुन् ।
राष्ट्रियसभा सदस्य चुनावमा साम्पाङको मतदान केन्द्र विराटनगर थियो । उनले कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा दुई पदका निम्ति मतदान गर्नुपर्ने थियो । तर उनी विराटनगर नै गएनन् ।
हैटौडामा मतदान केन्द्र रहेको काठमाडौं महानगरका मेयर बालेन पनि गएनन् । बागमतीमा तीन पदका निम्ति मतदान भएको छ ।
सुदूरपश्चिम प्रदेशबाट तीन पदका निम्ति भएको राष्ट्रियसभा चुनावमा धनगढी उपमहानगरका मेयर हमालले पनि मतदान गरेनन् । धनगढीमै चुनाव भएपनि उनले मतदान गर्न नगएका हुन् ।
गत वर्ष वैशाखमा यी तीनै जनाले स्वतन्त्र उम्मेदवारी दिएर मेयर जितेका थिए । राष्ट्रियसभामा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको १९ मतभार छ ।