१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

अनलाइन ठगीमा एकै जनाबाट १ अर्ब ४९ करोडको कारोबार



नेपालमा प्रतिबन्धित अनलाइन जुवा र क्रिप्टो करेन्सीको कारोबारमा एक जना व्यक्तिले नै १ अर्ब ४९ करोडको कारोबार गरेको प्रहरीले सार्वजनिक गरेको छ । यसले नेपालमा अनलाईन ठगीको कारोबार कति डरलाग्दो रहेछ भन्ने तथ्य सार्वजनिक भएको छ ।

काठमाडौं अपराध अनुसन्धान कार्यालयले मंगलबार अनलाइन जुवा खेल्नेहरूका लागि अवैध रुपमा रकम ट्रान्सफर गरिदिने गिरोहका नाइकेलाई समातेको गथियो । अनलाइन जुवा खेल्न र ठगीका लागि विभिन्न माध्यमबाट रकम लोड गरिदिने सप्तरीको राजविराज नगरपालिका १० डुम्री निवासी २६ वर्षीय डम्बर साह पक्राउ परेका हुन् ।

साहले मात्रै आफ्नो कम्पनीमार्फत सन् २०२१ देखि हालसम्मको दुई वर्षबीचमा अनलाइन जुवा र अन्य अवैध कारोबारका लागि १ अर्ब ४९ करोड रुपैयाँ ट्रान्सफर गरेको तथ्य कार्यालयको अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले यो प्रकरणमा कम्तीमा पनि ३४ जना ठगिएको भेट्टाएको छ । साहसहितले अनलाइन जुवाका लागि अवैध रुपमा रकम लोड गरिदिनुका साथै ह्वाट्सएप, फेसबुक र ईमो जस्ता सामाजिक सञ्जालबाट विभिन्न व्यक्तिहरूलाई पार्सल पठाईदिन्छु भन्दै ठग्ने गरेको पनि भेट्टिएको प्रहरीले जनाइएको छ ।

साहले सञ्चालन गरेको उद्गम भेन्चर क्यापिटल, प्रोफिस्ट र उनकै नामको खाताबाट विभिन्न चरणमा अवैध अनलाइन जुवाका लागि रकम पठाउने गरेको खुलेको हो । अन्य व्यक्तिले खोजेको बेलामा साहले त्यसरी अवैध रुपमा रकम पठाइदिने गरेका थिए ।

साहले अनलाइन जुवा र ठगीका लागि नगदै, क्रिप्टो करेन्सी र ब्याज लिएर बैंक ट्रान्सफरबाट पनि रकम पठाउने गरेको भेटिएको छ । साहसँग मिलेका मिथलेश कुमार मण्डलले नगद र क्रिप्टो किनबेच गर्ने गरेको भेटिएको छ ।

अवैध रुपमा रकम लेनदेनका लागि साहले उद्गम भेन्चर क्यापिटलका चारवटा बैंक खाता खोलेका थिए । ती चारवटा खाताबाट मात्रै उनले ९१ करोड ६२ लाख ३८ हजार ६०९ रुपैयाँ कारोबार गरेको भेटिएको छ । यो काम उनले सन् २०२२ जुलाईदेखि २०२३ जुन अन्तिमसम्म गरेका हुन् ।

त्यस्तै साहले आफ्नै नाममा पनि विभिन्न बैंकमा ११ वटा खाता खोलेको भेटिएको छ । ती खाताबाट ५८ करोड ३५ हजार ६३४ रुपैयाँ कारोबार गरेको भेटिएको छ । यो कारोबार पनि २०२१ जुनदेखि २०२३ जुनसम्म भएको भेटिएको हो ।

कम्पनीका चारवटा र आफ्ना ११ वटा खाताबाट साहले यी दुई वर्षको बीचमा १ अर्ब ४९ करोड ६२ लाख ७४ हजार २४९ रुपैयाँ कारोबार गरेको भेटिएको हो ।

साहले अनलाइन जुवासहित अवैध कामका लागि क्रिप्टो करेन्सी किन्ने र बेच्ने, अन्यलाई ट्रान्सफर गर्ने र एकाउन्ट ह्यान्डलिङ गर्ने काम पनि गरेको प्रहरीको अनुसन्धानबाट खुलेको बताइएको छ ।

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ४ : ३८ बजे