९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025

मुगुको दुर्गम गाउँमा भाइरल इन्फ्लुएन्जा फैलियो



मुगुको सोरु गाउँपालिकाको पुरुमुरु र जिमा गाउँमा भाइरल इन्फ्लुएन्जा ज्वरो फैलिएको छ । बिरामीहरुलाई परिक्षण गराइएका स्वाबमध्ये १ जनालाई कोभिड, १९ जनालाई भाइरल इन्फ्लुएन्जा ए र अर्का एक जनालाई इन्फ्लुएन्जा बी, अरु ७ जनालाई भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार त्यस क्षेत्रमा ज्वरो फैलिएपछि गरिएको परीक्षणले ज्वरो भाइरल इन्फ्लुएन्जा भएको पुष्टि भएको हो । रोग परीक्षणको लागि बिरामीको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा टेकु काठमाडौं पठाइएको थियो ।

एक साताअघि सोरु गाउँपालिकाको पुरुमुरु र जिमा गाउँमा ज्वरोले १ सय ५० जना थला परेको र एउटै पुरुमुरु गाउँमा तीन जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयले जनाएको छ । गाउँमा फैलिएको ज्वरो नियन्त्रणको लागि औषधिसहित स्वास्थ्यकर्मीको टोली गाउँमै खटाइएको बताइएको छ ।

उक्त भाइरल इन्फ्लुएन्जा नियन्त्रण तथा थप रोग अनुसन्धानको लागि बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अर्न्त्रगत रोग नियन्त्रण महाशाखाबाट ३ जना र बिश्व स्वास्थ्य संगठन सुर्खेत शाखाबाट १ जना गरी ४ जनाको टोली रोग प्रभावित बस्तीमा खटिएको छ ।

प्रकाशित मिति : १७ माघ २०८०, बुधबार  ५ : ३८ बजे