प्रतिनिधिसभाका सांसदहरूको उपस्थिति दैनिक रूपमा सार्वजनिक गरिने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको सोमबारको बैठकले सांसदहरूको हाजिरी दैनिक रूपमा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
सभामुख देवराज घिमिरेको सचिवालयका अनुसार सभामुख घिमिरेको प्रस्तावमा उक्त निर्णय भएको हो । सांसदहरू संसद् बैठकमा उपस्थित हुन छोडेको भनेर हुने टिप्पणीको अन्त्य गर्नका लागि दैनिक रूपमा हाजिरी सार्वजनिक गर्नुपर्ने प्रस्ताव सभामुखले राखेका थिए । ‘आजदेखि सुरु हुने तेस्रो अधिवेशनदेखि प्रतिनिधिसभा बैठकको कार्यतालिका लागु गर्ने । विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण वेबसाइटमार्फत सार्वजनिक गर्ने,’ कार्यव्यवस्था समितिले निर्णय गरेको छ ।
संसद्का यसअघिका बैठक गणपूरक संख्या नपुगेर पटकपटक स्थगित गर्नुपरेको थियो । सांसदहरू हाजिरी गरेर संसद् बैठकबाट बाहिरिने गर्दा कुनै प्रस्ताव, प्रश्न निर्णयार्थ प्रस्तुत गर्दा गणपूरक संख्या नपुगेर रोकिने गरेका थिए ।