विश्का ९ जना नोबेल शान्ति पुरस्कारका विजेता एकैपटक लुम्बिनी आउने लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताएका छन् । उनका अनुसार बालबालिकाको क्षेत्रमा शान्ति, सद्भाव र करूणाको सन्देश दिने र लुम्बिनीको विकासका लागि विश्वको ध्यान आकर्षित गर्ने उद्देश्यले लुम्बिनी प्रदेश सरकारले आयोजना गर्न लागेको चौथो अन्तर्राष्ट्रिय बालबालिका, विकास र शान्तिका लागि ‘लरिएट्स एन्ड लिडर्स शिखर सम्मेलन’ मा सहभागी हुन उनीहरु आउन लागेका हुन् ।
सन् १८९५ मा स्वीडेनका वैज्ञानिक अल्फ्रेड नोबेलको नाममा स्थापना भएको बाह्र लाख अमेरिकी डलर पुरस्कार राशीको नोबेल शान्ति पुरस्कार विश्वको सर्वाधिक ठूलो राशीको पुरस्कार मानिन्छ । साहित्य, शान्ति, भौतिक, रसायन, क्रिया विज्ञान तथा चिकित्सा र अर्थशास्त्र क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्ति तथा संस्थाहरूलाई प्रदान गरिने नोबेल पुरस्कार विश्वकै सम्मानित मानिन्छ ।
मुख्यमन्त्री चौधरीका अनुसार शिखर सम्मेलनमा सन् २०१४ का नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीसहित जोजे रामोस ओर्टा, अब्देसतार वेन मौसा, विदेद बुसामावुई, लेह्म बोवी, जोडी विलियम्स, टवाको कम्र्यान, रिचार्ड रोबट्र्स र एरी वार्सल सहभागी हुने छन् ।
शिखर सम्मेलनमा नौ जना नोबेल शान्ति पुरस्कार विजेतासँगै बालबालिका, शान्ति क्षेत्रका विज्ञ, संयुक्त राष्ट्रसंघका विकास साझेदार लगायत २० जना बढी विदेशी विशिष्ट व्यक्ति र सरकारी तथा गैरसरकारी क्षेत्रका अधिकारी गरी नेपालका २ सयभन्दा बढी विशिष्ट व्यक्तिहरूको सहभागिता रहने बताइएको छ ।
प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू, मन्त्रीहरू, बालबालिका र शान्तिसँग जोडिएका व्यक्ति तथा संघसंस्थाका प्रतिनिधि कार्यक्रममा सहभागी हुनेछन् ।
सम्मेलनमा जोर्डनका राजकुमार अली विन अल हुसेन, अर्थशास्त्री जेफ्री स्याक्स, स्टकहोम इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटका बोर्ड अध्यक्ष स्टेफन लोफभेन, पानामाकी पूर्वप्रथम महिला लोरेना क्यासिलो, इन्टर पार्लियामेन्टरी युनियनका महासचिव मार्टिन चुङगोङ समेत सहभागि हुने पनि बताइएको छ ।
प्रदेश सरकारले शिखर सम्मेलनका लागि बजेटमै ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको थियो ।
कार्यक्रम फागुन २७ गतेको उद्घाटन र २९ गतेको समापन समारोह लुम्बिनीस्थित अन्तर्राष्ट्रिय सभा हलमा हुनेछन् भने अन्य विभिन्न समूहगत छलफलहरू आवासको लागि छनोट हुने होटलहरूमै सञ्चालन हुनेछन् ।