१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

पहिचानको आन्दोलनकारी र कोशी सरकारबीच पाँच बुँदे सहमति



कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचान पक्षधरबीच पाँच बुँदे सहमति भएको छ । आज (शुक्रबार) बिहान दुबै पक्षबीच भएको वार्ताले पाँच बुँदे समहति तय गरेको हो ।

सहमतिमा फागुण १० गतेअघि अर्को वार्ताको समय मिलाउने लगायत पाँच बुँदामा सहमति भएको छ । सहमतिको पहिलो बुँदामा प्रदेशको पुनः नामकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडी बढाउनेु, भनिएको छ ।

आन्दोलनरत पक्षले आन्दोलनको स्वरूप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अघि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने सहमतिको दोस्रो बुँदामा सहमति गरिएको छ । त्यसैगरी पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरूको उपचार व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने उल्लेख छ ।

पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरूको रिहाइ र मुद्दा लागेका व्यक्तिहरूको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने सहमतिको चौथो बुँदामा उल्लेख गरिएको छ भने पाँचौँ बुँदा ‘दुवै पक्षका वार्ता समिति संयोजकहरूले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने’ भनिएको छ ।

शुक्रबार सरकारी वार्ता टोली र पहिचान पक्षधर वार्ता समितिका सदस्यबीच छलफल भएको थियो । जसमा सरकारका तर्फबाट वार्ता समितिका संयोजक कमलप्रसाद जबेगू, गणेशप्रसाद उप्रेती र प्रदेश सचिव लक्ष्मीप्रसाद पौडेलले हस्ताक्षर गरेका छन् भने पहिचान पक्षधर संयुक्त संघर्ष समितिको वार्ता समितिका तर्फबाट डकेन्द्रसिंह थेगिम, गोविन्दबहादुर आङबुहाङ, युवराज राई, दिवस राई, लाक्पा शेर्पा, कुमार लिङदेन, पदम लिम्बु, अर्जुन जम्नेली राई, डम्बर लावती जेन्टल, पदम जबेगु र चन्द्रकुमार चौधरीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।

यसअघि बिहीबार पनि दुई पक्षबीच वार्ता भएको थियो । प्रारम्भिक छलफलपछि शुक्रबार बिहान भएको वार्तामा सहमति जुटेको पहिचान पक्षधर वार्ता समितिका सदस्य दिवस राईले जानकारी दिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ३ : ०० बजे