१७ फाल्गुन २०८०, बिहिबार | Thu Feb 29 2024

गत वर्ष विदेश गएका मध्ये ३ लाख ४० हजार नफर्केको गृहको जानकारी



गृह मन्त्रालयले सन् २०२३ मा नेपालबाट बाहिरिएका मध्ये ३ लाख ४० हजार ३ सय ६९ जना नेपाली विदेशमा नै बसेको जनाएको छ । आइतबार प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा छलफलका लागि पेस गरेको जानकारी पत्रमा गएको वर्ष १६ लाख ३ हजार ८३८ जना नेपाली नागरिक बाहिरिदा १२ लाख ६३ हजार ४६९ भित्रिएको उल्लेख गरेको छ ।

यस अवधिमा अध्ययनको लागि १ लाख ०८ हजार ५ सय ४२ जना, अस्थायी आवास भिसामा ९२ हजार ३४९ विदेशमा गएका छन् । त्यस्तै स्थायी आवासका ७० हजार ९१५ र डिपेन्डेन्ट भिसामा २० हजार ६१३ गरी जम्मा २ लाख ९२ हजार ४२० नेपाली कुनै न कुनै रुपमा विदेश मै रहने गरी गएका छन् । यसमा भारतको भूमि भएर तेस्रो देश गएका नागरिकहरुको संख्या समावेश छैन ।

सन् २०२३ मा ८ लाख ८ हजार ४१५ नागरिक श्रमिकको रुपमा विभिन्न देश गएका छन् । नाता भिसामा १ लाख ६७ हजार ४८५, भिजिट पर्यटक तथा धार्मिक प्रयोजनको लागि २ लाख ०४ हजार ५१८ नागरिक बाहिरिएका छन् ।

अध्यागमन कार्यविधि २०६५ मा नेपाली नागरिकलाई विदेश प्रस्थान सम्बन्धी भएको सरल व्यवस्थालाई मिति २०७८ फागुन २६ मा नेपाल सरकार सचिवस्तर निर्णयबाट जटिल बनाइएको विवरण पनि पेस गरिएको छ ।

हाल अध्यागमन विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेकोमा सोमा वर्तमान समय सापेक्ष बनाउन केही विषयहरु थप गराउनुपर्ने र यसको आधारमा अध्यागमन नियमावलीमा समेत संशोधन गर्नुपर्ने आवश्यकताबारे समितिलाई जानकारी गराइएको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ४० बजे