४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

थापाथलीस्थित प्रसूति गृहमा शिशु चोरी



थापाथलीस्थित परोपकार स्त्रीरोग तथा प्रसूति अस्पतालबाट शिशु चोरी भएको छ । काभ्रेको चौरीदेउराली गाउँपालिका-३ स्थायी घर भई हाल कपन बस्ने सविता श्रेष्ठको २६ दिनको बच्चा अस्पतालबाटै चोरी भएको हो ।

प्रहरीका अनुसार आमा सविनाले हातमा भएको फोहोर फ्याँक्ने बेला बच्चा बोकेर सहयोग गर्ने भन्दै छेउमा आइपुगेकी एक अपरिचित महिलालाई बच्चा लिएर हिंडेको हो ।

डस्टबिनमा फोहोर फ्याँकेर फर्किँदा ती महिला बच्चा लिएर फरार भएको सविनाको जाहेरीमा छ । बच्चा लिएर फरार भएकी ती महिलाको खोजी भइरहेको प्रहरीको भनाई छ ।

अनुसन्धान अधिकृतहरुले संकलन गरेको क्लोज सर्किट (सीसी) क्यामराको फुटेजमा समेत ती महिला कैद भएकी छन् । मास्क लगाएकी महिलाले शिशु लिएर हिंड्दै गरेको सीसी टीभीमा देखिएको छ ।

अस्पतालका स्रोतका अनुसार शिशु बिरामी भएपछि ओपीडी जाँचका लागि अस्पताल पुगेका बेला शिशु चोरी भएको हो ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ११ : ३५ बजे