४ माघ २०८१, शुक्रबार | Fri Jan 17 2025

संसद् भवन परिसरमा खटिएका सुरक्षाकर्मी हटाइए, गृहमन्त्री गरे सोधपुछ 



लघुवित्तका ऋणीहरु आन्दोलनकारीको एक टोली नयाँ बानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि सुरक्षार्थ खटिएका प्रहरी निरीक्षकसहितको टोलीलाई जिम्मेवारीबाट हटाएको छ । 

प्रहरी प्रधान कार्यालयले उनीहरुको एकैसाथ जिम्मेवारीबाट हटाएको हो । लघुवित्तका ऋणीहरुको टोली संसद् भवन परिसरभित्र प्रवेश गरेपछि गृह मन्त्रालयको दवावमा संसद् भवन परिसरमा खटिएको सुरक्षा टोलीलाई हटाइएको हो ।

प्रहरी उच्च स्रोतका अनुसार, यसरी जिम्मेवारीबाट हटाइनेमा इन्स्पेक्टरसहित ३२ जना छन् । उनीहरुको ठाउँमा नयाँ टोली समेत पठाइसकिएको बताइएको छ । 

सोमबार दिउँसो भएको घटनाबारे छानबिन गर्न उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति बनाएको छ । समितिमा काठमाडौं प्रहरीका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीएसपी दिनेश घिमिरे सदस्य छन् ।

यसैबीच उक्त घट्नालाई लिएर गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुरक्षा निकायका प्रमुखहरुको आकस्मिक बैठक बोलाएका छन् । मन्त्रालयमा बोलाइएको बैठकमा गृहसचिव दिनेश भट्टराई, नेपाली प्रहरीका प्रमुख आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बलका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतलगायत सहभागी भएका थिए । 

गृहमन्त्री श्रेष्ठले सुरक्षा निकायका प्रमुखसँग सोमबार संसद् भवनमा भएको घटनाबारे जानकारी मागेका थिए । सुरक्षा निकायको कमजोरी कहाँ भयो भन्नेबारे उनले सोधेका थिए । गृह मन्त्रालयको निर्देशनपछि नै प्रहरी प्रधान कार्यालयले नयाँ बानेश्वरस्थित संसद् भवनको सुरक्षामा खटिएका इन्स्पेक्टरसहित ३२ जनालाई जिम्मेवारीबाट हटाएको हो । 

निषेधित क्षेत्र पार गरेर संसद् भवनभित्र छिरेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त पीडितलाई नियन्त्रणमा लिएको छ । यसपछि सभामुख देवराज घिमिरेले पनि प्रहरी प्रमुख वसन्त कुँवरलाई फोन गरेर चासो राखेका थिए ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ११ : ४४ बजे