४ बैशाख २०८१, मंगलबार | Tue Apr 16 2024

धितो भन्दा दोब्बर ऋण प्रवाह गर्ने सेञ्चुरी बैंकका पूर्वसिइओसहित १० पक्राउ




धितो भन्दा दोब्बर ऋण प्रवाहव गर्ने ततिकालिन सेञ्चुरी बैंकका सिइओ तथा हाल प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जना पक्राउ परेका छन् । उनीहरुमाथि अनुसन्धान गर्न उच्च अदालत पाटनबाट ७ दिन हिरासतमा राख्‍न प्रहरीलाई अनुमति दिएको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको आरोपमा १० जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतमसहित राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत रहेका छन् ।
यौपाने, गौतम लगायतले धितोको मूल्यांकनभन्दा अधिक कर्जा प्रवाह गरेको पाइएको प्रहरीले जनाएको छ ।
सिआइबीले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सातदोबाटोमाथि अनुसन्धान गरेको थियो। उक्त संस्थामा आबद्ध रहेका सञ्चालक समितिका पदाधिकारीहरू, उनीहरूसँग सम्बन्धित कम्पनीहरूको विवरण र कम्पनीहरूले लिएका कर्जाको विषयमा सिआइबीले अनुसन्धान गरेको थियो।
त्यही क्रममा देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईं
आवद्ध चार कम्पनीलाई तत्कालीन सेन्चुरी कमर्सियल बैंकले ऋण प्रवाह गरेको पाइएको थियो । चौलागाई हाल सहकारीको रकम अपचलन गरेको कसुरमा थुनामा छन्।
उनी आबद्ध कम्पनीहरू पुजा ट्रेडिङ एण्ड मार्केटिङ कम्पनी प्रालि, थ्री ब्रदर्स मार्केटिङ प्रालि, पुजा मार्केटिङ प्रालि र अन्नपूर्ण डिष्टिलरी प्रालिलाई कर्जा प्रवाह गर्दा धितो स्‍वरूप बैंकमा कर्जा सुरक्षण बापत राखिने धितोको मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको पाइएको हो।
सिआइबीका अनुसार धितोको मूल्यांकन एक अर्ब १४ करोड २३ लाख ८४ हजार २५८ रुपैयाँ थियो भने कर्जा स्वरूप दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार ७३१ रुपैयाँ प्रवाह भएको देखिएको छ ।
यसरी धितोको मूल्यांकनभन्दा ९७ करोड ४१ लाख ७० हजार ७७२ रुपैयाँ ऋण प्रवाह गरेको भन्दै सिआइबीले १० जनालाई पक्राउ गरेको हो।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ११ : १९ बजे