२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

धरपकडले बैंकिङ क्षेत्र आतंकित बनेको बैंकर्स संघ दावी



मंगलबार केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेसहित १० जनालाई पक्राउ गरेको पछि बैंकिङ क्षेत्र आतंकितवबनेको बताईएको छ ।
नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारी गर्दै बुधबार ‘पहिला सुन अनि थुन’ को नीति नलिई राज्यले ‘पहिला थुन अनि सुन’ को नीति लिएको भन्दै असन्तुष्टि जनाएका छन् ।
तत्कालीन सेन्चुरी कमर्सियल बैंकले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रवीन्द्र चौलागाईं आबद्ध चार कम्पनीलाई धितो मूल्यांकनभन्दा बढी ऋण प्रवाह गरेको भन्दै बेंकरहरु पक्राउ परेका हुन् ।
बैंक तथा वित्तीय संस्थाका कुनै पनि घटनामा प्रत्यक्ष सलंग्न नभएका व्यक्तिलाई समेत पदीय ओहोदा वा कागजातमा हस्ताक्षर गरेको कारण निजहरूले असल नियतबाट गरेको कामलाई बेवास्ता गर्दै अनाहकमा कारबाहीको भागीदार बनाइएको संघको दावी रहेको छ ।
पक्राउको यो घटनाले बैंकरहरूको मानसिक तथा सामाजिक अवस्थामा गम्भीर असर पुर्‍याएको उनीहरूले बताएका छन्।
यसबाट यस क्षेत्रमा काम गर्ने कर्मचारीहरूको मनोबल खस्कन गई कर्जा विस्तारमा समेत प्रभाव पर्ने जाने र समग्र अर्थतन्त्रको विकासमा असर पुग्ने बैंकरहरूले बताएका छन्।
बैंकहरूले प्रचलित कानून, नियमनकारी निकायबाट जारी निर्देशनहरू र बैंकिङ क्षेत्रको मान्य सिद्धान्तहरूको अधिनमा रहेर काम गरिरहेको संघहरूको भनाइ छ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ८ : ५० बजे