१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

काठमाडौँ उपत्यकामा बढ्यो न्यानो



काठमाडौँ उपत्यकामा जाडोले बिदा लिन थालेको छ । दैनिक क्रमश तापक्रम बढ्दै गएको छ । शुक्रबारको अधिकतम तापक्रम २४ डिग्री सेल्सियसमा उक्लिएको छ।
हिउँदयाम सकिएर प्रिमनसुन सुरु भएकै दिन आज (शुक्रबार) उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियसमा पुगेको हो।
बिहीबार उपत्यकाको अधिकतम तापक्रम २३.८ डिग्री सेल्सियस थियो। यस्तै आज उपत्यकाको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बिहीबार उपत्यकाको न्यूनतम तापक्रम ६.९ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
यही फागुन १० गते भएको मौसम बदली र वर्षाका कारण फागुन ११ गते ३.५ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम क्रमशः बढेर आज ७.५ डिग्री सेल्सियसमा उक्लिएको हो। त्यस दिन उपत्यकाको अधिकतम तापक्रम पनि १९.४ डिग्री सेल्सियसमा झरेको थियो।

प्रकाशित मिति : १८ फाल्गुन २०८०, शुक्रबार  ८ : ४९ बजे