७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

१६ मन्त्री थपिए, कस्ले कुन मन्त्रालय पाए



नयाँ सत्ता समिकरण बनेको तेस्रो दिन नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीका तर्फबाट १६ जना नयाँ मन्त्री थपिएका छन् ।

राष्ट्रपति भवन शीतलनिवासमा बुधबार साँझ राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त तीन उपप्रधानमन्त्रीसहित १० मन्त्रीले शपथ लिए । योसँगै मन्त्रिपरिषद् २० सदस्यीय भएको छ ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वमा पुनर्गठित मन्त्रिमण्डलमा एमालेका उपमहासचिव रघुवीर महासेठ, माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र रास्वपा सभापति रवि लामिछाने उपप्रधानमन्त्री नियुक्त भएका छन् ।

महासेठले भौतिक पूर्वाधार, श्रेष्ठले परराष्ट्र र लामिछानेले गृह मन्त्रालयको विभागीय जिम्मेवारी पाएका छन् ।

एमालेबाट हरि उप्रेतीले रक्षा, भगवती चौधरीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, राजेन्द्र राईले खानेपानी, दामोदर भण्डारीले उद्योगमन्त्री, ज्वालाकुमारी साहले कृषि तथा पशुपक्षी विकास र बलराम अधिकारीले भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मबारी पाएका छन् ।

माओवादीबाट वर्षमान पुनले अर्थ, शक्ति बस्नेतले ऊर्जा र रेखा शर्माले सञ्चार तथा सूचना प्रविधि मन्त्रीको जिम्मेवारी पाएका छन् । माओवादीका श्रेष्ठ, बस्नेत र शर्मा यसअघिको मन्त्रिपरिषद्का पनि सदस्य थिए ।

रास्वपाका विराजभक्तले श्रेष्ठ युवा तथा खेलकुद र सुमना श्रेष्ठले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय पाएका छन् ।

एकीकृत समाजवादीबाट भानुभक्त जोशीले संघीय मामिला तथा सामान्य प्रशासन र धनबहादुर बुढाले सहरी विकास मन्त्रालयको नेतृत्व पाएका छन् ।

सोमबार मात्र विना विभागीय मन्त्री बनेका एमालेबा पदम गिरीले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, माओवादीबाट हितबहादुर तामाङले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र रास्वपाबाट डोलप्रसाद अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा पाएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : १९ बजे