७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

उदयपुरको मैनामैनीमा जिप दुर्घटना हुँदा आठको मृत्यु



धरानबाट भोजपुर घोरेटारतर्फ जाँदै गरेको यात्रुवाहक जिप उदयपुरको मैनामैनीमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । घटनास्थलमा नै सातजनाको मृत्यु भएको हो भने थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीका अनुसार मृत्यु हुनेमा इटहरी ९ का चालक ४० वर्षीय मानबहादुर बस्नेत, भोजपुरको हतुवागढी गाउँपालिका २ का ७० वर्षीया पर्वतमाया राई, २३ वर्षीय चन्द्रप्रकाश राई, ६ महिनाकी बालिका बिसाङ चाम्लिङ राई, हतुवागढी ५ की ३२ वर्षीया राजकुमारी राई, हतुवागढी ९ का ६८ वर्षीय पदमबहादुर थापा, ४५ वर्षीया कमला अधिकारी र हतुवागढी ५ का ४२ वर्षीय किशन राई छन् ।

किशन राईको उपचारका क्रममा धरानमा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । धरानबाट भोजपुरको दक्षिणतर्फ जाँदै गरेको को१ज २५९३ नम्बरको जिप बिहीबार बिहान १०:३० बजेतिर उदयपुरको मैनामैनीमा दुर्घटना भएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  ५ : ३७ बजे