पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ का सल्लाहकार जीवन गुरुङ सुन तस्करीमा संलग्न रहेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।
गुरुङविरुद्ध १ अर्ब ४० करोड बिगो र ५ वर्ष कैद सजायको माग गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत मनिराम पौडेलका अनुसार बिहीबार सरकारी वकिल कार्यालयले गुरुङविरुद्ध मुद्दा दर्ता गर्ने अनुमति दिएसँगै शुक्रबार मुद्दा दर्ता गरेको भन्सार कार्यालय स्रोतले जनाएको छ ।
गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित बारपाक, गोरखाका चन्द्र घले पक्राउ परेका थिए । त्यसमा अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको पत्ता लागेको थियो ।
सो प्रकरणमा तत्कालीन उपराष्ट्रपति पुनका सल्लाहकार गुरुङको संलग्नता खुलेको हो । पर्वत घर भएका जीवन गुरूङ पूर्वउपराष्ट्रपतिसम्म पहुँच बनाएका व्यक्ति भएकाले अनुसन्धानको दायरामा ल्याइएको थिएन । अनुसन्धान गर्ने निकायको नजरमा उनी फरार थिए ।
भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो । ६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन् ।