१० जेष्ठ २०८१, बिहिबार | Thu May 23 2024

सुन तस्करीको आरोफमा पूर्वसभामुख महरा पक्राउ



पूर्वसभामुख तथा सत्तारुढ दल माओवादीका उपाध्यक्ष कृष्णबहादुर महरालाई सुनतस्करी गरेको आरोपमा पक्राउ गरिएका छन् । कपिलवस्तुबाट प्रक्राउ गरी काठमाडौं ल्याइएका महरालाई अन्सन्धानको लागि ४ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

महरालाई विद्युतीय चुरोट भेपमा राखि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ९ किलो सुन तस्करी गरेको कार्यमा संलग्न रहेको आरोप लगाइएको छ । पूर्वन्यायधीश डिल्लीराज आचार्य संयोजक रहेको सुन तस्करी सम्बन्धी जाचँबुझ आयोगले महरामाथि थप अनुसन्धान र मुद्दा चलाउन सिफारिस गरेको थियो । महराले सुन तस्करीका नाइके चिनियाँ नागरिक दावा छिरिङ लगायतसँग २५६ पटक टेलिफोन संवाद गरेको भेटिएको र सुन राखिएको भेप छुटाउन महराले भन्सार अधिकारीहरूलाई दबाव दिएको आधारमा उनलाई तस्करीमा संलग्न भएको आरोप लगाइएको हो ।

हाल पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङले लगानी गरेको भियाना होटलको सवारीसाधन महराकै निर्देशनमा तत्कालीन उपराष्ट्रपति नन्दकिशोर पुनका वैदेशिक मामिला सल्लाहकार जीवनकुमार गुरुङको नाममा दर्ता गरेर प्रयोगमा ल्याइएको समेत आयोगले खुलाएको प्रहरीले जनाएको छ ।

‘गाडी दावा, महरा र गुरुङ मध्ये कसको नाममा दर्ता गर्ने भन्नेमा महराले सेटिङ गरेर गुरुङको नाममा दर्ता गर्न निर्देशन दिएको प्रमाण फेला परेको छ,’ प्रहरी स्रोतले भन्यो । सुन तस्करीमा दावा, पुनका छोराद्वय दीपेश र जितेन्द्र, महरा र पुनका सल्लाहकार गुरुङले संयुक्त भूमिका खेलेको दाबी गरिएको छ ।

आरोपी गुरुङ १५ लाख धरौटीमा रिहा

सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका सल्लाहकार जीवनकुमार गुरुङ भने १५ लाख धरौटीमा छुटेका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले गुरुङलाई १५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । सुन तस्करी प्रकरणमा पक्राउ परेका गुरुङविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको थियो ।

नन्दबहादुर पुन उपराष्ट्रपति हुँदा गुरुङ वैदेशिक मामिला सल्लाहकार थिए । उनी सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ६ : २६ बजे