सय राउण्ड गोलीसहित स्वचालित हतियार बोकेका दुर्गा प्रसाईंका दुई बडिगार्ड सर्वोच्च अदालत परिसरमा पक्राउ परेका छन् । उनीहरुलाई प्रहरी वृत्त सिंहदरबार पठाइएको बताइएको छ ।
अदालत परिसरबाट हतियारसहित पक्राउ परेका उनीहरुलाई थप अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा पठाइएको जिल्ला प्रहरी कार्यालय काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिएका हुन् ।
किन कुन प्रयोजनले हतियार बोकेर अदालत प्रवेश गरे, लाइसेन्स प्राप्त हतियार हो/होइन लगायतका विषय अनुसन्धान कै क्रममा रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान करिब ११ बजेतिर सर्वोच्च अदालत परिसरबाट प्रहरीले प्रसाईंका बडिगार्डहरु दीपक खड्का र रामकुमार धिमाललाई पक्राउ गरेको जनाएको छ ।
विवादित् मेडिकल व्यवसायी प्रसाईंको मुद्दाको पेशी सोमबार रहेकाले उनीहरु हतियार बोकेरै सर्वोच्च अदालत पुगेका थिए । अदालतका मुल गेटमा इन्सपेक्टर विजय भण्डारीसहितको टोलीले जाँच गर्ने क्रममा हतियार भेटेपछि उनीहरुलाई पक्राउ गरिएको थियो ।
उनीहरुबाट मेड इन जर्मन जिएसजी-५ लेखिएको स्वचलित हतियार १ थान, सानो र ठूलो गरेर ४ थान म्यागजिन, म्यागजिन होल्डर १ थान, त्यसको गोली १०० राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।