९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

प्रधानमन्त्री दाहालद्वारा गृहमन्त्री रविको बचाउ, “उनी निर्दोष छन्”



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाएका प्रश्नको जवाफ दिंदै बचाउ गरेका छन् । प्रमुख प्रतिपक्षी कांग्रेसले आफै सहकारीको पैसा अपचलनको आरोपमा आफै प्रहरी अनुसन्धानमा रहेका ब्यक्ती गृहमन्त्री हुन नहुने भन्दै विरोध गर्दै आएको छ ।

मंगलबारको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री दाहालले गृहमन्त्री लामिछानेमाथि उठेका प्रश्नको जवाफ दिंदै प्रमाणबिनाको जाहेरी पुनः दर्ता गर्न प्रहरीले आवश्यक नदेखेपछि पुनः दर्ता नभएको बताए ।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीका बचतकर्ताले गत १६ माघमा परेको पुरक जाहेरीमा गृहमन्त्री लामिछाने संलग्न भएको कुनै पनि आधार र प्रमाण पेस नभएको प्रधानमन्त्रीको भनाइ रहेको छ ।

प्रधानमन्त्रीले जवाफ दिनुअघि कांग्रेसले पटक–पटक गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै आएको थियो । मंगलबारको बैठकमा पनि कांग्रेस सांसद दिपक गिरीले राजीनामाको कुनै विकल्प नभएको बताएका थिए । तर, प्रधानमन्त्री दाहालले भने कांग्रेस नै सरकारमा भएको बेलामा प्रहरीले अनुसन्धान अघि बढाएर छुट्टै जोहरी दर्ता गर्न उपयुक्त समेत नठानेको तर्क संसदसमक्ष प्रस्तुत गरे ।

उनले रविले सूर्यदर्शन सहकारीमा कुनै हिनामिना नगरेको प्रतिवेदन र अनुसन्धानबाट प्रष्ट देखिएको दाबी गरे । ‘हालसम्मको अनुसन्धानले माननीय रवि लामिछाने सहकारीको सञ्चालक समिति, लेखा समिति, ऋण समिति, कर्मचारी लगायत कुनै पनि जिम्मेवारी र भूमिकामा नरहेको र अदालतमा विचाराधीन मुद्दामा पनि उहाँ कहीँ कतै जोडिएको देखिएको छैन,’ उनले भने ।

उनले लामिछानेको नाममा पोखराको सुर्यदर्शन सहकारीबाट प्रवाह भएको ऋण पनि फर्छ्र्यौट भइसकेको बताए । साथै, उनले लामिछानेको हकमा कुनै अनुसन्धान नै गनुपर्ने नदेखिएको निष्कर्ष प्रहरीले निकालेको पनि संसदलाई जानकारी गराए ।

गृहमन्त्री लामिछानेबारे जवाफ दिँदै प्रधानमन्त्रीले आफू नेतृत्वको सरकारले सुशासन कायम गर्ने सवालमा कुनै पनि सम्झौता नगर्ने पनि दावी गरे । यदि अनुसन्धानबाट केही पनि कैफियत देखिएको खण्डमा लामिछानेलाई नै कारबाही गर्न केही कुराले पनि रोक्न नसक्ने उनले दाबी गरे ।

उनले अहिलेसम्म भएको अनुसन्धान र प्रहरीबाट आएको प्रतिवेदनका आधारमा गृहमन्त्री लामिछाने निर्दोष नै रहेको उल्लेख गर्दै यो विषयलाई लिएर कुनै राजनीतिकरण नगर्न पनि कांग्रेसलाई आग्रह गरे ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलबार  ६ : २४ बजे