७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

जनार्दनका प्रिय उपसचिव सापकोटालाई ८४ लाख भ्रष्टाचारको मुद्दा



तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले विराटनगर भन्सार प्रमुख बनाएका उपसचिव ताराप्रसाद सापकोटालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्चाचारको मुद्दा चलाएको छ ।

विशेष अदालत काठमाडौंमा उनीसँगै तत्कालीन भन्सार अधिकृत नवकुल शर्मा समेत मुद्दा दायर गरेको हो । देव इन्टरनेसनल प्रालिले आयात गरेको वस्तु जाँचपास गर्दा ८४ लाख ५५ हजार ६ सय ५ रुपैयाँ राजस्व छली भएको अख्तियारले आरोप लगाएको छ ।

कम्पनीले चीनबाट आयात गरेको बस्तुको प्रज्ञापनपत्र गत वर्ष पुस २० गते दर्ता गरेपछि सिस्टमबाट नै डिलिट गरिएको भन्ने उजुरी अख्तियारमा परेको थियो । उक्त उजुरीउपर छानविन गर्दा राजस्व छली भएको देखिएको छ । सापकोटाले गरेको कामकारबाहीमा अर्थ मन्त्रालयले समेत छानबिन गरेको थियो ।

अर्थ मन्त्रालयले छानबिन गरेपछि पुन: प्रज्ञापन पर्दा सिस्टममा इन्ट्रि गरेको देखिएको अख्तियारको भनाइ छ । जसमा भन्सार मूल्याङ्कन समेत फरका पारिएको उल्लेख छ । जसले पैठारीकर्तालाई गैरकानुली लाभ तथा नेपाल सरकारको राजस्व चुहावट भई नोक्सान पुगेको पुष्टि भएकोले मुद्दा दायर गरेको अख्तियारको दावी छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलबार  ५ : ५० बजे