३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

नेपाललाई आठ महिनामा साढे एक खर्ब लगानी प्रतिबद्धता



चालु आर्थिक वर्षको आठ महिना (साउनदेखि फागुनसम्म) मा साढे १ खर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म १ खर्ब ५५ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको हो ।

विभागका अनुसार फागुन महिनामा मात्र २ अर्ब ६८ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । यस वर्ष लगानी प्रतिबद्धता गत वर्षको यसै अवधिको तुलनामा वृद्धि भएको छ । अघिल्लो वर्षको फागुनसम्म १ अर्ब २७ अर्ब रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको थियो ।

यस वर्ष फागुनसम्म वैदेशिक लगानी प्रतिबद्धता पनि केही बढेको छ । यस अवधीमा बैदेशिक लगानी प्रतिबद्धता २९ अर्ब १३ करोड रुपैयाँ पुगेको छ भने गत वर्षै यसै अवधीमा २७ अर्ब ७७ करोड रुपैयाँ मात्र वैदेशिक लगानी प्रस्ताव आएको थियो ।

विभागका अनुसार यस वर्ष फागुनसम्म स्वदेशी तथा विदेशी २५८ वटा उद्योग दर्ता भएका छन् । यसमध्ये ठूला उद्योगको संख्या ३२ रहेका छन् । मझौला उद्योग २२ र साना उद्योगको दर्ता २०४ रहेको विभागले जनाएको छ । यस वर्ष दर्ता भएका स्वदेशी उद्योगले १८ हजार १५३ रोजगारी दिन सक्ने तथ्यांकमा उल्लेख छ ।

विदेशी लगानी तर्फ फागुनसम्म कुल २५३ वटा उद्योग दर्ता भएका छन् । यी उद्योगले १३ हजार १६९ रोजगारी सिर्जना गर्न सक्ने देखिएको छ । वैदेशिक लगानी फागुन महिनामा मात्र ६ अर्ब ४७ करोड आएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : २९ बजे