९ चैत्र २०८१, आइतबार | Sun Mar 23 2025

सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ सञ्चालकलाई पारदर्शी हु्न शिक्षामन्त्रीको आग्रह



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बूढानीलकण्ठ स्कूलका सञ्चालकहरुलाई आग्रह गरेकी छन् ।

तीनै विद्यालयका प्रिन्सिपलहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई निर्धारित विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा भर्ना लिन आग्रह गरेकी हुन् ।

मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउन प्रिन्सिपलहरूलाई आग्रह गरिन् ।

उनले प्रिन्सिपलहरुलाई विद्यालयले भर्नाका लागि आवेदन आह्वान गरेपछि धेरै उच्च पदस्थाहरुको कोटा हुन्छ, भनिदिनु पर्‍यो भनेर दबाब दिइरहेकफ उल्लेख गर्दै मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ भन्ने सुनेको उल्लेख गर्दै विगतको त्यस्तो विकृति अन्त्य गर्न भनेकी हुन् ।

छलफलमा तीनवटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको गुनासो गरेका थिए । मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरेकी हुन् ।

‘पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन बरु गरिव र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्, मन्त्री श्रेष्ठले भनिन्, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ।’

छलफलमा सेन्ट जेभियर्सले चार वर्ष अघिदेखि नै गोलाप्रथाबाट भर्ना लिने गरेको, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तर्क्रियाका आधारमा भर्ना लिएको र बूढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यतामा आधारमा भर्ना लिने गरेको जानकारी दिएका थिए ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार  ६ : ३६ बजे