१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

एनआरएनएको निर्वाचनमा त्रुटी भएको छानबिन समितिको निष्कर्ष



गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औं महाधिवेशनको निर्वाचन त्रुटिपूर्ण रहेको ठहर छानविन सिमितले गरेको छ । सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहान नेतृत्वको समितिले उक्त निर्वाचन त्रुटिपूर्ण रहनुमा १२ कारण उल्लेख गरेका छन् ।

एनआरएनको निर्वाचनको वैधतामाथि विवादमा भएपछि गत माघ ९ गते मन्त्रिपरिषदको बैठकले छानबिन गर्न महान्यायाधिवक्ता कार्यालयका सहमहान्यायाधिवक्ता ध्रुवकुमार चौहानको संयोजकत्वमा छानबिन समिति बनाइएको थियो । समितिले प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष निर्वाचन त्रुटिपूर्ण रहेको भन्दै प्रतिवेदन दिएको छ ।

गत कात्तिक ३ गते अनलाइन मार्फत भएको निर्वाचनमा काठमाडौंबाट भएको मतदानमा उपाध्यक्षका उम्मेदवार केशव पौडेलको मत शून्य देखिएपछि अध्यक्षत्रय बद्री केसी, कुल आचार्य र रविना थापाले एक विज्ञप्ति जारी अर्को निर्णय नभएसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित भएको घोषणा गरेका थिए ।

तीन अध्यक्षको निर्णयविपरीत भोलिपल्ट कात्तिक ४ गते मतदानमा बढी मत पाएका अध्यक्षका उम्मेदवार बद्री केसीलाई निर्वाचन समितिले शपथ खुवाएपछि अध्यक्षका प्रतिस्पर्धी राजेन्द्रकुमार (आरके) शर्मा र महेश श्रेष्ठले अस्वीकार गरी समान्तार अर्को कार्यसमिति बनाएका थिए । यसमा देखिएको विवादलाई समाधान गर्न मन्त्रिपरिषदको बैठकले परराष्ट्र मन्त्रालयका सहसचिव, प्रहरी उपरीक्षक र उपसचिव (लेखा) सदस्य रहेको समिति गठन गरेको थियो ।

चौहानको समितिले प्रतिनिधिहरूको छनोटको सर्न्दभमा दुई वर्ष बसोबास गरेको हुनुपर्ने अनिवार्य सर्त पूरा नगरेको, दाबीविरोधपश्चात पनि मतदाता नामावालीमा प्रतिनिधिहरूको नाम थप गरिएको, मतदाताहरूको अनलाइन भोटिङको संवेदनशील विवरण युजर नेम र पासवर्ड निर्वाचन समितिले प्राप्त गरी संघको आईटी टिममार्फत मतदातालाई उपलब्ध गराइएको, सम्झौताबमोजिम भेरो भोटिङको आधिकारिक प्रतिनिधि निर्वाचन स्थलमा भौतिक रूपमा उपस्थित नभएकोलगायतका त्रुटीहरु समितिले औल्याएको छ ।

छानबिन समितिले निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्ने निर्णय निर्वाचन भइरहेको सयमयमा गरिएको तथ्य फेला पारेको उल्लेख गरेको छ । मतदाताको फेसियल बाइपास, भोटर डिटेल हेर्ने एक्सेस (पहुँच) गैरआवासीय नेपाली संघको आईटी सपोर्ट टिमलाई उपलब्ध गराएको, फेसियल भेरिफिकेसन बाइपाससम्बन्धी विवरणको अभिलेख नराखेको, अन्य व्यक्तिहरूले हालेको मतदानको सम्बन्धमा कुनै छानबिन नगरी सो मतलाई रद्द गरी पुनः मतदान गराएको पनि समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ५ : ५० बजे