१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

सर्वोच्चद्वारा वनकाली क्षेत्रमा प्रवेशमा रोक, शव गाड्ने बैकल्पिक व्यबस्था गर्न आदेश



सर्वोच्च अदालतले पशुपति क्षेत्रमा पुरातात्विक महत्वका सम्पदा, वन बुट्यान, जीवजन्तु, चराचुरुङ्गीको बासस्थान रहेको र तिनको संरक्षण गर्नुपर्ने भन्दै वनकाली, मृगस्थली, श्लेषमान्तक लगायतका वनक्षेत्रमा सर्वसाधारणको प्रवेशलाई रोक लगाउन आदेश दिएको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको इजलासले गत ७ माघमा गरेको फैसलाको बिहीबार सार्वजनिक गरिएको पूर्णपाठमा भनिएको छ, ‘लास गाड्ने वैकल्पिक उपयुक्त स्थानको पहिचान गरी एक बर्ष पछिदेखि श्लेषमान्तक वनक्षेत्रमा लास गाड्न, फाल्न नपाउने व्यवस्था मिलाउनू । पाशुपत क्षेत्रभित्र कुनैपनि प्रकारको फोहोरमैला जम्मा हुन नदिई तत्काल सफाइ गर्ने भरपर्दो व्यवस्था मिलाउनू ।’

ती क्षेत्रमा भक्तालु र पर्यटकको आवतजावतका लागि पैदल हिँड्ने बाटो बनाउन आदेश दिदै सर्वोच्च अदालतले सर्वसाधारणलाई वन बाटिकामा प्रवेश गर्न नदिन आदेश दिएको हो ।

‘पाशुपत क्षेत्रभित्र रहेको वनकाली, मृगस्थली, श्लेषमान्तक वन लगायतका स्थानमा खाली रहेको, वन नासिए मासिएको स्थानमा सघन रुपमा वृक्षरोपण गरी हरियाली कायम राख्नू, उल्लिखित क्षेत्रमा रहेका रुख विरुवा काट्न, मास्न नदिनू, वनक्षेत्रको पूर्ण संरक्षण गर्र्नू, गराउनू’ फैसलाको पूर्णपाठमा भनिएको छ ।

सर्वोच्च अदालतले मृगस्थली, श्लेषमान्तक लगायतका वनमा पहिरो र भू स्खलन रोक्न पनि आदेश दिएको छ । त्यस्तै पशुपति क्षेत्रमा कुनैपनि भौतिक निर्माणका काम गर्दा पुरातत्व विभागको लिखित परामर्श लिन पनि आदेश दिएको छ । पशुपति क्षेत्रका जमिनमा कंक्रिट ढलान गरेर संरचना निर्माण नगर्न पनि सर्वोच्चले आदेश दिएको छ ।

उसले पशुपतिनाथ मन्दिरको सम्पत्ति संरक्षण गर्न पनि आदेश दिएको छ । फैसलाको पूर्णपाठमा भनिएको छ, ‘पशुपतिनाथको सम्पत्ति, गुठी जग्गा, अन्य आम्दानी र खर्चको हर हिसाब, स्रेस्ता दुरुस्त र पारदर्शी रुपमा कायम राख्नू र ती सम्पत्तिको सुरक्षा र संरक्षणका लागि उचित व्यवस्थापन मिलाउनू ।’

विभिन्न नाममा पशुपति क्षेत्रको अतिक्रमण भएको र त्यसले विश्वसम्पदा क्षेत्रमा सूचिकृत पशुपतिनाथको अस्तित्व नै संकटमा पारेको भन्दै अधिवक्ता दीपकविक्रम मिश्रले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए । त्यही निवेदनको सुनुवाइपछि सर्वोच्च अदालतले ७ माघ, २०८० मा निर्देशनात्मक आदेश जारी हुने ठहर गरेको थियो ।

त्यसैगरी सर्वोच्चले पशुपति क्षेत्रभित्र इन्जिनबाट चल्ने सवारी साधनमा रोक लगाउन पनि आदेश दिएको छ । पशुपति क्षेत्र पूरातात्विक महत्वका साथै धार्मिक, सांस्कृतिक सम्पदा भएको भन्दै सर्वोच्चले पशुपति क्षेत्रभित्र सवारीसाधन चल्ने कुनैपनि बाटो नखोल्न पनि आदेश दिएको हो । त्यस्तै खोलिसकेको भए बाटो बन्द गर्न र त्यस्तो बाटोमा इञ्जिनबाट चल्ने सवारीसाधन नचल्ने सुनिश्चितता गर्न पनि आदेश दिएको छ ।

‘वनकाली, मृगस्थली, श्लेषमान्तक वन क्षेत्रभित्र पर्नेगरी तिलगंगा–गोठाटार (ताम्रगंगा) जाने भनिएको बाटो लगायत पाशुपत क्षेत्रभित्रको अन्य स्थानमा समेत इन्जिनबाट चल्ने कुनै पनि प्रकारको सवारी साधन सञ्चालन हुन सक्ने गरी बाटो निर्माण नगर्न’ आदेशको पूर्णपाठमा भनिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ६ : ०६ बजे