१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

अमेरिकी लगानीको कम्पनीबिरुद्ध झण्डै साढे १० अर्बको मागदावी



राजस्व अनुसन्धान विभागले अमेरिकी लगानीको आइटी कम्पनी कोटीभीटी नेपाल प्रालिविरुद्ध ५ अर्ब १८ करोड कुल बिगो र त्यति नै बराबरको जरिवाना मागदावी गरेर मुद्दा दायर भएको छ । कोटीभीटी नेपालविरुद्ध विभागले आइतबार कर छली अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।

राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेध गरेको कार्य गरी त्यही ऐनको दफा ४ को (क), (ग), (च) र (झ) बमोजिमको कसुर गरेको दाबीसहित उक्त कम्पनीविरुद्ध मुद्दा दर्ता गरिएको हो ।

विभिन्न आर्थिक वर्षमा सेयर स्वामित्वमा परिवर्तन भएको देखिए पनि कम्पनीको सेयर स्वामित्वमा भएको परिवर्तनअनुसार मध्यमस्तरीय करदाता कार्यालयलगायत निकायमा प्रचलित कर कानुनबमोजिम बुझाउनुपर्ने आयकर ऐन, २०५८ बमोजिमको कर तथा मूल्य अभिवृद्धि ऐन, २०५२ बमोजिमको कर राजस्व दाखिला नगरेको पाइएकोले मुद्दा दायर गरेको विभागले जनाएको छ ।

साथै भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ (क) र ७ (ख) आकर्षित हुने देखिएकोले राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा १० को उपदफा (३) बमोजिम थप अनुसन्धानको लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने निर्णयसमेत भएको विभागले जनाएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ६ : १८ बजे