१० बैशाख २०८१, सोमबार | Tue Apr 23 2024

१३ वर्षपछि पक्राउ परे माओवादी पूर्व कमाण्डर कालीबहादुर खाम



तत्कालिन कमाण्डर तथा हालका माओवादी नेता कालीबहादुर खाम हत्या अभियोऊमा पक्राउ परेका छन् । कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या अभियुक्त खाम सोमबार ठमेलबाट पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरी परिसरका अनुसार पक्राउ पूर्जी जारी भएको १३ वर्षपछि पक्राउ परेका खामलाई चितवन पठाउने तयारी भइरहेको छ ।

०६३ मा माओवादी शान्ति प्रक्रियामा आएपछि मा‌ओवादी लडाकु कमान्डर रहेका खामको टोलीले कोटेश्वरस्थित श्रेष्ठको घरको दोस्रो तला भाडामा लिएको थियो ।

माओवादीले खामको उक्त डेरालाई जनमुक्ति सेनाको तेस्रो डिभिजनको सम्पर्क कार्यालय बनाएको थियो । खामलगायतका लडाकु कमान्डर काठमाडौँ रहँदा त्यहीँ बस्थे । १४ चैत ०६४ राती सम्पर्क कार्यालयबाट पेस्तोल र १७ लाख रुपैयाँ चोरी भएको थियो । पछि पैसा र हतियार त भेटिए पनि घरबेटी श्रेष्ठलाई उनीहरुले नियन्त्रणमा लिए र

चोरीको सो घटना अनुसन्धानका लागि भन्दै गोविन्दबहादुर बटाला ‘जीवित’ को टोलीले श्रेष्ठलाई १५ वैशाख राती २ बजे अपहरण गरेर शक्तिखोरस्थित लडाकु शिविर पुर्‍याए । सोधपुछका क्रममा गरिएको कुटपिटबाट उनको ज्यान गयो ।

चोरीमा केशव अधिकारी ‘रघु’ र गंगाराम थापा ‘एटम’ पनि संलग्न भएको श्रेष्ठले पोल खोलेको दिन तीनै जनालाई २८ वैशाखमा एउटै कोठामा राखिएको थियो । पोल खोलिदिएको झोकमा रघु र एटमको कुटपिटबाट श्रेष्ठको टाउको, छाती र खुट्टामा गम्भीर चोट लागी बेहोस भएपछि लडाकु शिविरकै गाडीमा राखेर उपचारका निम्ति काठमाडौँ लैजाने क्रममा भालुढुंगामा पुग्दा श्रेष्ठको मृत्यु भएको थियो । रघु र एटमले तन्‍नामा बेरी त्यसमा ढुंगा हालेर झोलुंगे पुलबाट नारायणी नदीमा श्रेष्ठलाई फालिदिएका थिए । एटम डिभिजन कमान्डर रहेका खामकै अंगरक्षक थिए ।

उक्त घटनामा पछि अदालतले खामलाई दोषी ठहर्‍यायो । तर उनी फरार थिए । चितवनमा मुद्दा चलिरहेकोले उनलाई त्यहिँ लैजान लागिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २० चैत्र २०८०, मंगलबार  ५ : ०८ बजे