११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

दुई समुहबीचको झडप रोक्न सुनसरीका ५ पालिकामा कर्फ्यू



स्कूलमा एक युवालाई कुटपीट गरेको विषयलाई लिएर दुई पक्षबीच झडप हुँदा सुनसरीका पाँच पालिकामा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको छ ।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुँयालका अनुसार इनरुवा नगरपालिका, भोक्राहा नरसिंह गाउँपालिका, हरिनगर गाउँपालिका, देवानगञ्ज गाउँपालिका र कोशी गाउँपालिकामा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरिएको हो ।

साथै स्थानीय प्रशासनले पूर्व पश्चिम राजमार्गमा पनि सतर्कता बढाएको छ । राजमार्गमा लामो दूरीका सवारी साधनलाई निगरानीमा राखेर मात्रै आवतजावत गर्न दिइएको छ । हरिनगर गाउँपालिका-१ भुटाहामा बिहीबार एक युवकमाथि स्थानीयले कुटपिट गरेका थिए । कुटपिट भएको विषयमा शुक्रबार दुई समूहबीच झडप भएको थियो ।

दुई समूहबीचको झडपले उग्ररूप लिएपछि अनिश्चितकालका लागि प्रशासनले पाँच पालिकामा कर्फ्यू आदेश जारी गरेको हो । भुटाहामा शुक्रबार भएको झडपमा परी १० जना आन्दोलनकारी घाइते भएका छन् । जसमध्ये २ जनालाई गोली लागेको छ । स्थिति नियन्त्रणका लागि प्रहरीले चार दर्जनभन्दा बढी अश्रुग्यास र हवाई फायर गरेको छ । झडपमा १८ जना प्रहरी सामान्य घाइते भएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले यसअघि झडपस्थल हरिनगर गाउँपालिका र देवानगंज गाउँपालिकाको १ र ७ नम्बर वडामा मात्रै निषेधाज्ञा जारी गरेको थियो । तर विवाद बढेपछि कर्फ्यू आदेश जारी गर्दै सुरक्षा सतर्कता बढाएको छ । निषेधित स्थानमा सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली, भेला जम्मा, प्रदर्शन लगायतका कुनै पनि कार्यक्रम नगर्न र नगराउन प्रशानले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : ३७ बजे