बहुचर्चित नागढुंगा–सिस्ने खोला सुरुङमार्ग सोमबार छिचोलिएको छ । निर्माण थालेको ५३ महिनापछि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा विस्फोटक पदार्थमार्फत सुरुङ ख छिचोलिएको हो । सुरुङबाट सवारीसाधन सञ्चालन गर्न भने थप एक वर्ष लाग्ने बताइएको छ ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ०७६ कात्तिक ४ मा काठमाडौंतर्फको टुटीपाखामा सुरुङको शिलान्यास गरेका थिए । ४२ महिनाभित्र काम सक्ने भन्दै यसको शिलान्यास भएको थियो । तर कोभिड र बेलाबेला हुने स्थानीयको अवरोधले गर्दा समयमै काम सक्न गाह्रो भएको आयोजनाले जनाएको छ । सुरुङ सञ्चालनमा आएपछि भने काठमाडौंको थानकोटबाट तीन मिनेटमै धादिङको सिस्नेखोला पुगिनेछ । काठमाडौंतर्फ बलम्बुबाट साढे आठ किलोमिटर दूरीमा पुगिने सिस्नेखोला सुरुङमार्ग भएर जाँदा भने २.६८८ किलोमिटरको दूरी हुने आयोजनाले जनाएको छ । मुख्य सुरुङको दूरी २.६८८ किलोमिटर र आपत्कालीन सुरुङको दूरी २.५५७ किलोमिटर छ ।
आपत्कालीन सुरुङलाई भने गत साउन २२ मै छिचोलिएको थियो । अहिले त्यसको फिनिसिङ भइरहेको छ । मुख्य सुरुङ गत फागुन २३ मा छिचोल्ने तयारी गरेपनि १४ मिटर खन्न बाँकी रहँदा स्थानीयले खानेपानी, सिँचाइलगायत नयाँ/पुराना माग अघि सार्दै धादिङ र काठमाडौंतर्फ एक महिना काम ठप्प पारेपछि समयावधी लम्बिएको हो ।
अहिले ८/८ घण्टाको सिफ्ट बनाएर सुरुङमा चौबीसै घण्टा काम भइरहेकाले काममा छिटो प्रगति भएको नागढुंगा–सिस्ने खोला सुरुङ निर्माण आयोजनाका उपआयोजना निर्देशक गोविन्द दुमरुले बताएका छन् ।
यो सुरुङ खन्दा ‘ड्रिल एन्ड ब्लास्ट मेथड’ अपनाएको आयोजनाले जनाएको छ । मुख्य सुरुङबाट आपत्कालीन सुरुङमा जाने सातवटा द्वार निर्माण गरिएको छ । सुरुङभित्र केही भवितव्य घटना भएमा उद्वारको लागि उक्त सुरुङको प्रयोग हुन्छ । अब सुरुङभित्र लाइटिङ, अक्सिजन जडान, सडक ढलानको काम हुनेछ । यता बलम्बुतर्फ लफइओभर निर्माण धमाधम भइरहेको छ । तीनवटा पुल र ६ वटा कर्ल्भट निर्माण भइसकेका छन् । बलम्बुदेखि सुरुङमार्ग प्रवेश गर्ने मुख टुटिपाखासम्म २.३०७ किमि दुई लेन सडक कालोपत्र हुँदै छ ।धादिङको सिस्ने खोलातर्फ ५६५ मिटर पहुँच सडक निर्माण गरिनेछ । अहिले नागढुंगाबाट साना–ठूला गरेर दैनिक करिब १० हजार सवारी ओहोरदोहोर गर्छन ।