नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
पौडेलसँग २३ करोड रूपैयाँबराबर सम्पत्तिको स्रोत नखुलेको अकुत सम्पत्ति रहेको अख्तियारको निष्कर्ष छ । उनले यो रकम भ्रष्टाचार गरी कमाएको अभियोग लगाउँदै अख्तियारले मुद्दा चलाउने निर्णय गरेको हो ।
नेसनल पेमेन्ट गेटवेसम्बन्धी उपकरण खरिद प्रकरणमा २३ करोडको भ्रष्टाचार मुद्दामा शुक्रबार मात्र दोषी ठहर भएका पौडेलविरुद्ध आइतबार अख्तियारले पुन: अर्को मुद्दा विशेष अदालतमा पुर्याएको छ ।
अख्तियारले पौडेलसहित ९ जनाविरुद्ध २०८० असोज १५ गते पेमेन्ट गेटवे प्रकरणमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । तीमध्ये विशेष अदालतले पौडेललाई मात्र दोषी ठहर गरेको थियो । सुनील हाल अख्तियारकै हिरासतमा छन् ।