२८ माघ २०८१, सोमबार | Tue Feb 11 2025

उपनिर्वाचनमा झण्डै २५ सय प्रहरी, सेना पनि खटिने



नेपाल प्रहरीले वैशाख १५ गते हुने उप-निर्वाचनको सुरक्षाका लागि झण्डै २५ सय प्रहरी खटाउने भएको छ । साथै सरकारले निर्वाचनमा नेपाली सेनालाई समेत परिचालन अनुमति दिएको छ ।

वैशाख १५ गते इलाम २ (प्रतिनिधि सभा) र बझाङ १ (प्रदेश सभा) मा हुन गइरहेको उपनिर्वाचनको तयारी पूरा भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

नेपाल प्रहरीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिहीवार उपनिर्वाचन हुने दुवै क्षेत्रमा सुरक्षा व्यवस्था मिलाएको बताएको छ । प्रहरीले निर्वाचन पूर्वको सुरक्षा, निर्वाचनको दिनको सुरक्षा र निर्वाचन पछिको सुरक्षालाई अलग—अलग कार्ययोजना बनाएर सुरक्षा व्यवस्था मिलाएको बताएको छ ।

प्रहरीका अनुसार उप-निर्वाचन हुने दुवै जिल्लामा २ हजार ३ सय ८७ प्रहरी कर्मचारी खटिएका छन् । निर्वाचन क्षेत्र भित्र मतदानको दिन हुनसक्ने सम्भावित जोखिमको विश्लेषण गरेर सबै सुरक्षा व्यवस्था मिलाएको बताइएको छ ।

इलाम-२ बाट निर्वाचित पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भदौ २६ गते हृदयघातको कारण निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त भएको थियो । यस्तै प्रदेश सभा सदस्य रहेका बझाङ १ बाट निर्वाचित पृथ्वीबहादुर सिंहको गत असार २५ मा सवारी दुर्घटनामा परेर निधन भएको थियो। निर्वाचन हुने दुवै स्थानमा मौन अवधि शुरु भइसकेको छ ।

प्रकाशित मिति : १३ बैशाख २०८१, बिहिबार  ५ : ४५ बजे