६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

इलाम-२ र बझाङ-१ (१) दुवै स्थानमा एमाले अगाडि



शनिबार भएको उपनिर्वाचनमा इलाम २ र बझाङ-१ (१) दुवै स्थानमा आइतबार रातीसम्म एमालेले अग्रता लिएको छ । सुरुवाती गणनामा पछि देखिएको इलामका एमाले उम्मेदवार सुहाङ नेम्वाङले मतान्तर बढाउँदै लगेका छन् ।

करिव ८ हजार मत गणना गर्दा उनले झण्डै आधा मत पाएका छन् । पछिल्लो परिणामअनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ३७८३ मत ल्याएका छन् । उनले पाएको मत सदर मतको करिब ४७ प्रतिशत हो ।

नेम्वाङलाई प्राप्त मत निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बरबहादुर खड्काको तुलनामा १००१ ले बढी छ । खड्काले २७८२ मत ल्याएका छन् । यो सदर मतको करिब ३५ प्रतिशत हो ।

यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू र पहिचान पक्षधर ‘मूढा’ चिह्न लिएर स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह थेगिम लिम्बू तेस्रो स्थानका लागि प्रतिस्पर्धा गरिरहेका छन् । स्वतन्त्र उम्मेदवार थेगिमले ७८४ मत ल्याएर तेस्रो स्थानमा छ भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बूले ५६१ मत ल्याएका छन् । यो सदर मतको करिब ७ प्रतिशत हो।

२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए । त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए ।

त्यस्तै बझाङ-१ (१) मा भएको प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनामा नेकपा (एमाले) कै दमनबहादुर भण्डारीले २ हजार ६३८ मतसहित अगाडी छन् । नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले १ हजार ९ सय ६२ र नेकपा (माओवादी केन्द्र) का उम्मेदवार जनकबहादुर बुढाले १ हजार ७ सय १९ मत प्राप्त गरेर दोस्रो र तेस्रो स्थानमा छन् ।

त्यसैगरी नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले ९ सय ६६ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का किशोरकुमार खड्काले ५५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : १६ बैशाख २०८१, आइतबार  १० : ५७ बजे