६ जेष्ठ २०८१, आइतबार | Mon May 20 2024

थेगिमले इलाममा पाएको मतबाट पहिचान पक्षधर उत्साहित



कोशी पुन नामाकरणको मागमा आन्दोलन गरिरहेको पक्ष इलाम-२ को उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले पाएको मतले उत्साहित देखिएको छ ।

पहिचान पक्षधर समुहहरुले साझा उम्मेदवारको रुपमा थेगिमलाई उठाएका थिए । उनले कुल ११ हजार ४५७ मत पाएर तेस्रा भएका थिए । उपनिर्वाचनमा २१ हजारभन्दा धेरै मत ल्याएर एमालेका सुहाङ नेम्वाङले जित हाँसिल गरे ।

उपनिर्वचान पछि पहिलो पटक थेगिमलाई उम्मेदवार बनाउने समुह र संस्थाहरुले विज्ञप्ती प्रकाशन गरी उपनिर्वाचनका क्रममा प्राप्त जनमतले संसदीय लोकतन्त्रमा पहिचानको राजनीति सुनौलो दिशातर्फ अघि बढेको निष्कर्ष निकालेको उल्लेख गरेको छ ।

“पहिचानसहितको १ नम्बर प्रदेश पुनः नामांकन संयुक्त संघर्ष समिति” मा आबद्व विभिन्न संस्थाले संयुक्त विज्ञप्ति जारी गर्दै मतदातालाई धन्यवादसमेत दिएका छन् ।

किरात याक्थुङ चुम्लुङ,नेपाल आदिवासी जनजाति महासंघ, पहिचानसहितको १ नम्बर प्रदेश पुनः नामांकन अभियान समिति, किरात राई यायोक्खा,नेपाल शेर्पा संघ, जसपा नेपाल, लिम्बुवान राष्ट्रिय समिति, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी र नेकपा एसनिकट लिम्बू संघ समाजवादीले संय्क्त बिज्ञप्ती निकाल्दै पहिचानका साझा र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम लिम्बूलाई मतदान गर्ने इलामेली मतदातालाई सामूहिक धन्यवाद दिएका हुन् ।

‘हामीले प्राप्त गरेको जनमतले पहिचान र अधिकार प्राप्तिको आन्दोलनलाई सामूहिक राजनीतिक पुँजीमा रूपान्तरण गर्न गराउन उत्प्रेरित गरेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०८१, बुधबार  ४ : ०५ बजे