२८ माघ २०८१, सोमबार | Mon Feb 10 2025

बुबाको मार्गनिर्देशानुसार अघि बढ्ने सुहाङको भनाई



इलाम २ बाट प्रतिनिधिसभाका लागि नवनिर्वाचित सांसद सुहाङ नेम्बाङले मंगलबार सपथ लिएका छन् ।

संघीय संसद् सचिवालयद्वारा सिंहदरबारमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनियताको शपथ लिएपछि सञ्चारकर्मीसँगको कुराकानीमा सांसद नेम्बाङले विकासका आधार कृषि, शिक्षा, स्वास्थ्य, पर्यटनलाई प्रवर्द्धन गर्न नीतिगत व्यवस्था गर्ने र भइरहेको नीति परिमार्जनको पक्षमा लाग्ने बताए ।

साथै उनले इलामेली जनताको माया, विश्वास र भरोसाका कारणबाट आफू विजयी भएकाले त्यहाँका जनताले भोग्दै आएका समस्या समाधान गर्न ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

दिवंगत बुबा सुवासचन्द्र नेम्बाङले देखाएको मार्गदर्शन अनुसार आफू अघि बढ्ने उल्लेख गर्दै उनले इलामेली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे । सांसद नेम्बाङले समग्र जिल्लाका समस्या र इलामको विकासलाई प्रभावकारी रुपमा उठाउने विश्वाससमेत दिलाए ।

‘नेपालमा धेरै विकासका काम अघि बढेका छन् । धेरै नीति निर्माण भएका छन् । सुशासनमा कमजोरी देखिँदा नतिजा आउन सकेको छैन । एकअर्कासँग सहकार्य गरेर समन्वयकारी भूमिका खेलेर संविधानलाई कार्यान्वयन गर्न सकिन्छ भन्नेमा एकताबद्ध भएर लाग्नुपर्छ । बुबा (सुवास नेम्बाङ)ले देखाउनुभएको मार्गनिर्देश अनुसार थाँती रहेका जिम्मेवारी पूरा गर्नेछु,’ सांसद नेम्बाङले भने ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : ०८ बजे