६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

छिचोलियो सुनकोशी–मरिन डाइभर्सनको सुरूङ, एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याइने



सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको मुख्य सुरूङ छिचोलिएको छ । बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को उपस्थितिमा सुरूङ छिचोलिएको हो ।

सुरुङ छिचोल्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यो आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताए । उनले देशको सिँचाइ प्रणालीमा सुधार भएर कृषि उत्पादन बढ्ने विश्वास व्यक्त गरे ।

यस सिंचाइ परियोजनाबाट करिब एक लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ पुर्‍याउने लक्ष्य रहेको छ ।

सरकारले यो आयोजनालाई रूपान्तरणकारी राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि बढाएको छ । प्रधानमन्त्री प्रचण्डले आयोजनाहरू सम्पन्न हुँदा उत्पादकत्व अभिवृद्धि र समृद्धिको लक्ष्यमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। उनले ठूला पूर्वाधार निर्माणमा उत्साह थपिएको पनि उल्लेख गरे ।

यो आयोजनाको सुरूङ अटोमेटिक टनेल बोरिङ मेसिन (टिबिएम) प्रविधिबाट निर्माण गरिएको हो ।

सुरू छिचोलिए पनि सुरूङको करिब १० प्रतिशत काम बाँकी नै रहेको आयोजनाले जनाएको छ । १३.३ किलोमिटर लम्बाईको उक्त सुरूङ २०७९ असोज २८ गतेदेखि टिबिएममार्फत् खन्न थालिएको थियो ।

यो बहुउद्देश्यीय आयोजनाको समग्र प्रगति भने जम्मा ३० प्रतिशत मात्रै भएको छ । ब्यारेज, पावर हाउस, ट्रान्समिसन लाइन लगायत काम बाँकी नै छन् । २०८४ को असोजसम्म आयोजना सक्नुपर्ने अवधि रहेको छ ।

यो आयोजनाबाट धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारामा सिँचाइ सुविधा पुर्‍याइने छ । साथै ३१.७ मेगावाट विद्युत पनि उत्पादन गर्ने लक्ष्य आयोजनाको छ ।

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ४ : २५ बजे