७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

बालमन्दिरको जग्गा प्रकरणमा २० जनाबिरुद्ध पक्राउ पुर्जी जारी



काठमाडौंको नक्सालस्थित बाल मन्दिरको जग्गा प्रकरणमा बाल संगठनका पूर्वपदाधिकारसहित २० जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । संगठनका पूर्वपदाधिकारीदेखि सो जग्गामा व्यापारिक गतिविधि सञ्चालन गर्ने व्यापारिक घरानाका सदस्य समेतका नाममा पक्राउ पुर्जी जारी भएको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुरोधमा काठमाडौं जिल्ला अदालतले बिहीबार बाल संगठनको जग्गा विवादमा संलग्न व्यक्तिविरूद्ध पक्राउ अनुमति दिएको हो । यसबारे सिआइबीले केही समयअघि देखि नै अनुसन्धान गरिरहेको थियो ।

संगठनका तत्कालीन अध्यक्ष रिता सिंह, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महाचिव गणेशभक्त श्रेष्ठ, उपमहासचिव सुमन शाक्य, कृष्णशंकर साह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, मनोहरगोपाल श्रेष्ठविरूद्ध पुर्जी जारी भएको छ । त्यस्तै प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही र दिपकदास श्रेष्ठविरूद्ध पुर्जी जारी भएको छ ।

त्यसैगरी उक्त जग्गा भाडामा लिएयर व्यापारिक गतिविध गर्ने जोशी परिवार र विशाल ग्रुपका सदस्यहरुलाई पनि पक्राउ पुर्जी जारी गरिएको छ । अनाथ र सहाराहीन बालबालिकाको संरक्षणका गर्दै आएको संगठनको जग्गा लिज सम्झौताका नाममा अनन्तकालसम्म व्यापारीलाई सुम्पने कार्य गरेको भन्दै जाहेरी परेको थियो।

उक्त जाग्गामा स्कूल चलाउने बृहस्पति विद्या सदनका पदाधिकारीहरूविरूद्ध पनि पुर्जी जारी भएको छ । बृहस्पतिका तत्कालीन अध्यक्ष चिरञ्जिवी तिवारी, प्रविणराज जोशी, मुरारीनिधी तिवारी, श्रद्धा संघाई, पुरूषोत्तम राज जोशी, अभिनव सिंघानिया, कीर्तिप्रसाद पाण्डे र सिद्धार्थ केडियाविरूद्ध अदालतबाट पुर्जी जारी भएको छ ।

नेपाल बाल संगठनलाई हानी नोक्सानी पुर्‍याउने उद्देश्यले २०४९ देखि २०७२ सालसम्म पटक-पटक न्यून रकममा सम्झौता गरेको उजुरीमा सिआइवीले अनुसन्धान गरिरहेको थियो । २०८९ सालमा सकिने सम्झौता पनि बद्नियत रुपमा म्याद समाप्त नभई नवीकरण गरेको भन्ने आरोप छ ।

नक्सालमा रहेको करिब २९ रोपनी जग्गा वार्षिक १ करोड ९ लाख रुपैयाँ तिर्ने गरी (पछिल्लो सम्झौताअनुसार) लिजमा दिइएको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ४ : ०३ बजे