११ चैत्र २०८१, मंगलबार | Tue Mar 25 2025

सरकारबाट यादवबाहिरिए, राईको पार्टी भित्रिए



सरकारबाट उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी बाहिरिएको छभने त्यसबाट फुटेर बनेको अशोक राईको जनता समाजवादी पार्टी (जसपा) भित्रिएको छ ।

सोमबार बिहान उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले राजीनामा दिएका थिए । पार्टी अध्यक्षसमेत रहेका यादवले वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमै रहेर सहकार्य गर्न नसकिने बताउँदै राजीनामा दिएका हुन् । यादवसँगै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले समेत पदबाट राजीनामा दिएका छन् ।

यादव विदेश भ्रमणमा रहेका बेला अशोक राईको नेतृत्वमा जसपा, नेपाल विभाजित भएको थियो । पार्टी फुटाउँदा राईलगायतका नेताहरुले यादवले कांग्रेसुँग मिलेर नयाँ समिकरण बनाउन खोजेको आरोप लगाएको थियो । नयाँ समिकरण बनाउन खोजेका कारण प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीले जसपा फुटाएको बताइन्छ ।

विदेशबाट फर्केपछि भने यादवले उक्त आरोप सही नभएको उल्लेख गर्दै सरकारमै रहने कोशिस गरेका थिए । तर बहुमत सांसदसहित अर्को पार्टी गठन गरेको राई पक्षलाई सरकारमा सहभागी गराउने बचन दिएका प्रधानमन्त्री दाहालले यादवलाई सरकारमा राखिराख्ने कोशिस गरेन्न । आइतवार प्रधानमन्त्री दाहालसँगको भेटवार्ता पछि यादवले सोमबार राजीनामा दिंदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका हुन् ।

मधेसमा रहेको यादव नेतृत्वको जसपाको सरकारलाई दिएको समर्थन एमाले र माओवादीले आइतबार फिर्ता लिंएको थियो । त्यसले पनि यादवलाई राजीनामा दिन बाध्य बनाएको बताइएको छ ।

राईले गरे तीन मन्त्रीको सिफारिस

उपेन्द्र यादवले सरकार छाडे लगतै राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले स्वास्थ्यमन्त्रीमा उपमहासचिव प्रदीप यादवलाई सिफारिस गरेको छ । पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई स्वास्थ्यमन्त्रीमा यादव र स्वास्थ्य राज्यमन्त्रीमा हसिना खानको नाम पठाएको हो ।
दुवै जनाले सोमबार नै शपथको तयारी भएको बताइएको छ ।

त्यस्तै जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ । तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने बताइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ३ : २२ बजे