८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

अमेरिकी राष्ट्रपतिका दुई उम्मेदबार बाइडेन र ट्रम्पबीच दुईवटा बहस हुने



अमेरिकी राष्ट्रपति निर्वाचन नजिकिंदै गर्दा दुई उम्मेदवार डेमोक्र्याटिकका जो बाइडेन र रिपब्लिकनका डोनाल्ड ट्रम्प बीच लाइभ बहस हुने भएको छ । यो बहसको पहिलो श्रृंखला २७ जुनमा सीएनएनले र दोस्रो श्रृंखला १० सेप्टेम्बरमा एबीसीले आयोजना गर्ने छन् ।

अमेरिकामा आगामी नोभेम्बर महिनामा राष्ट्रपतिको निर्वाचन हुँदैछ । निर्वाचनमा बाइडेन र ट्रम्प दोस्रोपटक प्रतिस्पर्धामा उत्रिँदै छन् । यसअघि बाइडेन पूर्वराष्ट्रपति ट्रम्पलाई हराएर राष्ट्रपति चुनिएका थिए ।

चुनावअघि उम्मेदवारहरुका एजेण्डा र धारणा सबैले थाहा पाउन् भन्ने उद्देश्यले उनीहरुसँग प्रत्यक्ष बहस गर्ने चलन छ । सीएनएनले जर्जियामा आयोजना गर्ने बहस कार्यक्रमको सञ्चालन जेक टेपर र डाना बेसले गर्ने जनाएको छ । यो बहसमा कुनै पनि दर्शक सहभागी हुने छैनन् ।

एबीसीले सञ्चालन गर्ने दोस्रो श्रृंखलाको बहस कार्यक्रमको सन्चालन डेभिड मुइर र लिन्से डेभिसले गर्नेछन् । एबीसीले बहस हुने स्थान सार्वजनिक गरेको छैन ।

गत बुधबार अमेरिकी राष्ट्रपति बाइडेनले ट्रम्पलाई दुई वटा बहस कार्यक्रममा सहभागी हुन प्रस्ताव गरेका थिए । ट्रम्पले तत्कालै त्यो प्रस्तावलाई स्वीकार गरेको सञ्चार माध्यमहरुले जनाएको छ ।

ट्रम्पले तेस्रो बहस फक्स न्युजमा हुनुपर्ने प्रस्तावसमेत राखेका थिए । तर तेस्रो बहसको टुंगो लागेको छैन ।

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ४ : ४७ बजे