सरकारले किर्गिस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ ।
गत शुक्रबार त्यहाँ हिंसात्मक आक्रमण भएपछि पाकिस्तानस्थित नेपाली राजदूतावासले शनिबार सूचना जारी गरी किर्गिस्तानमा रहेका नेपालीलाई सुरक्षित रहन आग्रह गरेको हो ।
पाकिस्तानस्थित नेपाली राजदूतावासका अनुसार किर्गिस्तानमा रहेका सबै नेपाली हालसम्म सकुशल छन् ।
दूतावासले शनिबार एक सूचना जारी गरी किर्गीस्तानको बिस्केकमा पछिल्ला केही दिनमा भएका घटनाबाट असुरक्षा बढेकाले घर बाहिर ननस्किन भनेको हो ।
दूतावासका अनुसार त्यो क्षेत्रमा करिब दुई सय ८० को सङ्ख्यामा नेपाली छन् । ‘बिस्केक र वरपर रहेका नेपाली हालसम्म सकुशल छन्,’ सूचनामा भनिएको छ, ‘स्थिति सामान्य नहुञ्जेलसम्म निवासरघर बाहिर ननिस्कन आग्रह छ ।’
दूतावासले कुनै किसिमको समस्या परेमा त्यहाँ रहेका स्थानीय नेपालीसँग वा इस्लामावादस्थित दूतावासको प्रत्यक्ष सम्पर्कमा रहन अनुरोध पनि गरेको छ ।
साथै दूतावासले कुनै जानकारी, सल्लाह वा सहयोग आवश्यक परेमा राजदूतावासको फोन नम्बर नम्बर +92512610321 (ह्वाट्सयाप समेत) र इमेल eonislamabad@mofa.gov.np मा सम्पर्क गर्न सकिने जनाएको छ।
बिस्केकमा चिकित्साशास्त्र अध्ययन गरिरहेका भारत, बङ्गलादेश, पाकिस्तानलगायत मुलुकका विद्यार्थी रहेका छात्राबासमा आक्रमण भएपछि दूतावासले यस्ताे आग्रह गरेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार हाल बिस्केकको अवस्था सामान्य छ। त्यहाँको परराष्ट्र मन्त्रालयले बिस्केकको स्थिति नियन्त्रणमा रहेको जनाउँदै झुटा समाचार सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न सम्बद्ध सबैमा आग्रह गरेको छ ।
छात्राबासमा भएको आक्रमणमा १५ जना विद्यार्थीलाई चोट लागेको थियो। उनीहरूको उपचार भइसकेको त्यहाँको मन्त्रालयले जनाएको छ। रासस