नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिएका छन् । विपक्षीहरुले सहकारी ठगीमा छानविन समितिको माग गरेर वेल घेराउ गरेका थिए ।
सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री दाहालले प्रतिपक्षी दलहरूलाई वेलमै मर्यदा पालकहरुबाट घेराबन्दी गराएर उनीहरुको नाराबाजीका बीचबाटै विश्वासको मत लिएका हुन् ।
उनलाई विश्वास छ भनेर १५८ जनाले मत दान गरेका छन् । विपक्षीहरुले मतदानमा सहभागी नभएकै कारण प्रधानमन्त्री दाहाललाई मतदान गर्ने एक सय ५७ सांसदले मात्र मतदानमा भाग लिए । विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए ।
प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए ।
सभामुख घिमिरेले प्रधानमन्त्रीले राखेको विश्वास मत प्रस्ताव बहुमतले पारित भएको पनि घोषणा गरेका छन् । नाराबाजी गरिरहेको नेपाली कांग्रेस, राप्रपा, जसपा नेपाल, लोसपा, राष्ट्रिय जनमोर्चासहितका प्रतिपक्षी दलहरू भने मतदान प्रक्रियामा सहभागी नै भएनन् ।
प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए । प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।
विश्वासको मत मागेका प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई अवरोधको मुल्य चुकाउनु पर्ने चेतावनी दिएका छन् । उनले कांग्रेस यस व्यवहार इतिहासमा कलंकको रुपमा रहने उल्लेख गर्दै यसको चर्को मुल्य चुकाउनु पर्ने बताएका हुन् ।