४ असार २०८१, सोमबार | Mon Jun 17 2024

सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी, कांग्रेसले संसदमा उठायो कुरा



कान्तिपुर पब्लिकेशनका अध्यक्ष कैलाश सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतबाट मंगलबार उनीविरूद्ध पक्राउ पुर्जी जारी भएको प्रहरीले जनाएको छ ।

जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पुर्जी जारी गर्न आदेश दिएको बताइएको छ । सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो ।

उनको नागरिकता नम्बर र अर्का एक व्यक्तिको नागरिकता नम्बर एउटै रहेको धनुषा प्रहरीले जनाएको थियो । उक्त जाहेरीबारे समाचार बाहिरिएपछि सिरोहियाले एक विज्ञप्ति जारी गरेर त्यसको खण्डन गरेका थिए ।

उनले राज्यले २०३३/२०३४ सालमा संकलन गरेको अभिलेखका आधारमा २०३६ सालमा १८ वर्ष पुगेर पहिलो नागरिकता लिएको उल्लेख गरेका थिए । त्यस्तै २०५७ सालमा त्यसको प्रतिलिपि लिएको तर दुइटा नागरिकता नलिएको भन्दै विज्ञप्ति जारी गरेका थिए ।

सिरोहियाले आफूविरूद्ध जाहेरी परेपछि सर्वोच्चमा निषेधको आदेश माग गर्दै रिटसमेत दायर गरेका थिए ।

यसैबीच मंगलबारको प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारी भएको विषय उठाएको छ । कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे कान्तिपुर पब्लिकेशनका अध्यक्ष सिरोहियाविरूद्ध पक्राउ पुर्जी जारीबारे कुरा पनि उठाएका हुन् ।

‘अहिले भर्खरै सुनिएको समाचारअनुसार कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ पुर्जी जारी भएको सुनेको छु । कानुनी कारबाहीको दायरामा हरेक नागरिकलाई ल्याउनुपर्छ, तर आग्रह र पूर्वाग्रह राखेर कसैमाथि कारबाही भयो भने नेपाली कांग्रेसले राणालाई सहेन, राजालाई सहेन । कसैलाई पनि सहँदैन त्यो पनि म दोहोर्‍याउन चाहन्छु’ उनले भने ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  २ : १५ बजे