कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले सहकारी ठगीसम्बन्धी समाचार रोकाउनलाई ब्ल्याकमेलिङ गर्न र मूल मुद्दा विषयान्तर गर्न आफूविरूद्ध आफैले उजुरी गर्न लगाएर सोधपुछसमेत नगरी पक्राउ पुर्जी जारी गरिएको बताएका छन् । उनले “आफैले” भनेको नाम नलिए पनि उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने हुन् ।
धनुषा जिल्ला अदालतबाट मंगलबार पक्राउ पुर्जी जारी भएपछि अध्यक्ष सिरोहियाले विज्ञप्ति जारी गर्दै सहकारी ठगी लगायत हरेक बेथितिका विषयमा समाचार लेख्ने कर्तव्यबाट कान्तिपुर एक इन्च पनि पछि नहट्ने उल्लेख गरेका छन् ।
‘समाचार लेखेका भरमा मिडिया हाउसका अध्यक्षमाथि व्यक्तिगत प्रतिशोध लिएर प्रहरी प्रशासनको शक्ति र जिम्मेवारी दुरुपयोग गर्ने पदाधिकारीले यो पनि सोचून्, दोहोरो पासपोर्टमा अनुसन्धान हुनुपर्ने व्यक्ति महान्यायाधिवक्ताको कार्यालयबाट मुद्दा नलाग्ने निर्णय गराएर राजनीतिक बार्गेनिङ गरी सत्तामा गएको विषयमा अनुसन्धान कहिले हुने हो?’ विज्ञप्तिमा उल्लेख छ ।
सिरोहियाले दोहोरो नागरिकता लिएको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा जाहेरी परेको थियो । त्यही जाहेरीका आधारमा जिल्ला अदालतका न्यायाधीश चित्रबहादुर गुरूङको इजलासले उनीविरूद्ध पुर्जी जारी गर्न आदेश दिएको हो ।
‘कानुनअनुसार हुने हरेक अनुसन्धानमा सम्पूर्ण सहयोग गर्न एक जिम्मेवार नागरिकका रूपमा म तयार छु । तर राज्यशक्ति दुरुपयोग गरेर हुने कुनै प्रतिशोध र हस्तक्षेपबाट म अध्यक्ष रहेको कान्तिपुर मिडिया ग्रुप किञ्चित विचलित हुने छैन,’ उनले विज्ञप्तिमा भनेका छन्, ‘सत्ता र शक्ति दुरुपयोग गरेर कान्तिपुरमाथि विगतमा पनि हस्तक्षेप भएको हो, म आफै पनि जेल गएको हुँ ।’
उनले निरंकुश शाही शासनमा र लोकमान सिंह कार्कीसमेतका पालामा समाचार लेख्दा पनि कान्तिपुरमाथि यस्तै षड्यन्त्र भएको उल्लेख गर्दै कान्तिपुर हरेक घडीमा निर्भीक रूपमा उभिँदै आएको बताएका छन् । “म अहिले पनि व्यक्तिगत रूपमा हरेक मूल्य चुकाउन तयार छु, तर कान्तिपुर आफ्नो सम्पादकीय स्वतन्त्रता र जिम्मेवारीमा सम्झौता गर्न तयार छैन” उनले भनेका छन् ।