४ असार २०८१, सोमबार | Mon Jun 17 2024

बुद्धको अविभाज्य अस्तुधातु रहेको रामग्राम स्तूप र यसको महत्व



ल्हाक्पा गेलु शेर्पा

नवलपरासीको सदरमुकाम परासीदेखि करिब ५ किमि दक्षिण पूर्वमा रहेको रामग्राम नगरपालिका–७ उजैनीमा शान्तिका अग्रदूत गौतम बुद्धको अस्तुधातु रहेको स्तूप छ । लुम्बिनीबाट करीब ५० किमी र भैरहवाबाट २१ किमी पुर्वको दुरीमा अवस्थित बुद्धस्मारक स्थलमध्ये रामग्राम बौद्धमार्गीहरुको लागि धेरै महत्वपूर्ण धार्मिक स्थल हो। जहाँ बुद्धको अस्तुधातु अहिलेसम्म अविभाज्य र सुरक्षित रूपमा छ। यो स्तुपको उचाई १० मिटर र व्यास २३.५ मिटर रहेको छ । हाल यो स्थान झराई नदीको पुरानो र नयाँ धारको बीचको टापुमा अवस्थित छ । सन १९९६ मे २३ मा यो स्तुपलाई युनेस्कोले विश्व सम्पदाको संभावित सूचिमा राखिएको छ ।

रामग्राम स्तूप क्षेत्रमा विभिन्न समयमा भू-भौतिक सर्वेक्षण (जियोफिजिक्स) र उत्खनन हुँदै आएको छ । रामग्रामको जमिनको सतहको भू- भौतिक सर्वेक्षण सन १९९७ र १९९९ मा भएको थियो भने पुरातत्विक अन्वेषण गर्ने चासो पहिलोपटक सन १८९६ देखि नै सुरु भएको देखिन्छ । एसिया सोसाइटी अफ बेंगलका ईतिहासबिद डा. डब्ल्यु होगीले सन १९०४ मा यस स्तूपको बारेमा अध्य्यन अनुसन्धान गरेका थिए तर यो नै रामग्राम स्तुप हो भनेर किटन गरेका थिएन । सन १९६४मा एस बि देओले रामग्राम स्तूपनै बुद्धको अस्तुधातु राखिएको स्तूप हो भनेर प्रमाणित गरेका थिए । पछि काठमाडौंका एक जना सदनन्दा भन्ने भिक्षुले स्तूपसँगै रहेको रुखमा रामग्राम स्तूप भनेर टिनको साइनबोर्ड झुन्डाएका थिए ।

चिनियाँ यात्रीहरु फासियनले पाचौँ शतब्दी र युवानचङले सातौं शतब्दीमा लुम्बिनी र रामग्राम भ्रमण गरेका थिए । युवानचङले यात्रा गरेको समयमा रामग्राम स्तूप रातिको समयमा ज्योतीसहित चाम्किने, जङ्गली हात्तीहरुले उक्त स्तूपलाई फुल र पानी चढाएको, भिक्षुहरु तपस्या गरिरहेको र त्त्यस स्थानमा स्तूप, स्तम्भ र बिहार रहेको कुराको आफ्नो यात्रा विवरणमा बर्णन गरेको पाईन्छ।

चिनियाँ यात्रीद्वयका यात्रा विवरणकै आधारमा त्यस समयमा त्यहाँ रहेको माटोको ढिस्को रामग्राम स्तूप हुन सक्ने अनुमानसहित पुरातत्वविद् बाबुकृष्ण रिजालले सन १९७७मा अनुसन्धान गर्दा उक्त स्थान रामग्राम स्तूप भएको निक्यौल गरिएको थियो। सन १९९८ देखी २००४ सम्मा पुरातत्वबिद शुक्र सागर श्रेष्ठको टोलीले स्तूपको बिच भागलाई सुरक्षित राखी वरिपरि उत्खानन गरेका थिए । उक्त उत्खाननबाट भेटिएका सामाग्रीहरुलाई रेडियो कर्बोन डेटिङ वैज्ञानिक पद्दतिबाट परिक्षण गर्दा रामग्राम स्तुपा छैठौं सतब्दी इसा पुर्वका अथवा बुद्धकालीन समयको भएको तथ्य आफ्नो रिपोर्टमा उल्लेख गरेको पाईन्छ । त्यसपश्चात् सन् २०११ मा राष्ट्रिय र अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले लुम्बिनी, तिलौराकोट र रामग्राममा पुनः सर्वेक्षण र उत्खननका क्रममा रामग्राम स्तूपको उत्तरपश्चिम भागमा बुद्धकलिन ठूला बौद्धविहार र पोखरीका संरचनाहरु फेला पारेको लुम्बिनी विकास कोषले जनाएको छ। युकेका दुराम युनिभर्सिटीका पुरातत्वबिद, नेपालका पुरातत्व बिभाग र लुम्बिनी बिकास कोषले सन २०१२ मा यस क्षेत्रका थप अन्वेषणको लागि सर्बे गरेका थिए ।

रामग्राम स्तूपको महत्व

रामग्राम स्तुप बौद्ध धर्मवालम्वीहरुको लागि अत्यन्त महत्वपूर्ण पवित्र स्थाल हो । बिभिन्न कारणबस यो पवित्र स्थाल लामो समय ओझेलमा पारिएको कारण बौद्धमार्गीलगायत अन्य समुदायबाटहरुको नजरबाट पनि टाडिएको देखिन्छ । बौद्धग्रन्थअनुसार शाक्य वंशका युवराज सिद्धार्थ गौतमको मनमा बैराग्य उन्पन्न भयो । उनी राजदरबार छाडेर निस्के । गयामा बुद्धत्व प्राप्त गरेपछि उनी धेरै स्थानमा ज्ञानको ज्योति फैलाउँदै हिँडे । अन्तिममा उनको कुशीनगरमा देहान्त भयो । बुद्धको देवासन भएको कुरा विभिन्न गणराज्यमा फैलियो र सात वटा राज्यका राजकुमारहरु र उनका आफन्तहरू देवासनपछि अस्तु लिन कुशिनगर पुगेका थिए । त्यसताका कुशिनगरमा मल्लहरुले राज्य गर्थे । मल्लहरुले बुद्धको अस्तुलाई एउटा पातमा संकलन गरी उनीहरुको एसेम्ब्ली हलमा राखेका थिए । सुरुमा मल्लहरुले बुद्धका अस्तु दिन मानेका थिएन तर एउटा द्रोण भन्ने ब्राह्मणको सुझावमा उक्त अस्तुलाई आठ भागमा बिभाजन गरी त्यहाँ उपस्थित आठ वटा राज्यहरुलाई बितरण गरियो । एक भाग बुद्धको मावाली राज्य कोलिया पनि पुग्यो र कोलियाका राजाले उक्त अस्तु राखि रामग्राममा स्तुप निर्माण गरियो । स्तुप नजिकै बिहार बनाई भिक्षुहरुलाई बस्न लगाएर नियमित पूजा पाठ गराउदै आएका थिए ।

रामग्राम त्यस समयको कोलिया राज्यको राजधनी रहेको अनुमान गरिएको छ । २६८ देखि २३२ इसापूर्वसम्म सम्राट अशोक भारत वर्षका चक्रवर्ती राजा थिए । त्यस समय अन्य राज्यका राजालाई परास्त गरी चक्रवर्ती बन्ने चलन थियो । अन्य राज्यका राजा र प्रजालाई आफ्नो अधिनमा लिन खोज्दा धेरै हिंसासमेत गरेका सम्राट अशोक पछि शान्तिका अग्रदूत गौतमबुद्धको दर्शनबाट प्रभावित भए । उनी एक असल बौद्धमार्गी भए । अन्तिममा बुद्धको दर्शन देश विदेशमा पुर्‍याउने उनले अठोट लिए। त्यसैका लागि विभिन्न राजाले बुद्धको अस्तु राखेका स्थानको पत्ता लगाउँदै उत्खनन गराउने र विभिन्न स्थानमा वितरण गर्दै बौद्ध स्तूप बनाउने अभियानमा लागे ।

विभिन्न ७ स्थानका स्तूप उनले उत्खनन गरी भारत वर्षका बिभिन्न स्थानहरुमा बितरण गरी ८४ हजार स्तूपहरु बनाए । सम्राट अशोक अन्तिममा रामग्राम स्तूपको उत्खनन गर्न पुगेका थिए । तर, रामग्राम स्तूपमा नियमित पूजा पाठ गर्दै आएका नागजातिले राजासँग स्तूप नभत्काउन अनुरोध गरे (कतै स्तुप बनाउन खोज्दा नाग र हात्तीहरुले संरक्षण गरी बत्काउन नदिएको ईतिहास पनि भेटिन्छ ) । नागजातिहरुले पहिला हामीलाई मारिदिनुस् अनि मात्र स्तूप खन्नु भन्ने चुनौती सम्राट अशोकलाई दिए । बुद्ध मार्गमा हिडिसकेका सम्राट अशोकले फेरि कसरी हिंसा गर्ने त्यसमा पनि आफुभन्दा बढी बुद्धप्रति आस्थावान नागजाति ठहरिएको महसुश गरे । उनीहरुले स्तूप खन्न नदिनका लागि आफ्नो ज्यानकै बाजी लगाए । यसबाट सम्राट अशोक प्रभावित भए । उनले रामग्राम स्तूप वरिपरि इट्टको पर्खाल लगाई र स्तुप नजिकै उनीहरूका लागि विहार बनाएर फर्केको थिए । आठवटा अस्तु धातुमध्येबाट बनाएको स्तुपहरु मध्ये एउटा मात्र सिंगो भाग अहिले बाँकी छ । जुन रामग्राम स्तूप हो ।

सन् १८३२ मा पुरातत्वबिद्हरुले पहिलो पटक अफ्गानिस्तानको बिमरान भन्ने स्थानमा उत्खनन् गर्दा हाड्डीको टुक्र र खरानी राखिएका एउटा सुनको बट्टा भेटाएका थिए । बट्टाको बाहिरी भागमा उक्त बट्टाभित्र बुद्धको अस्तुधातु राखिएको कुरा लेखेका थिए । जसबाट सम्राट अशोकले उक्त स्थानमा बुद्धको अस्तुधातु राखी स्तूप निर्माण गरेको प्रमाणित हुन्छ । त्यसैगरी पाकिस्तानको केही स्थानहरुमा र भारतको एउटा सानो राज्य आन्द्र प्रदेशबाट मात्र १७ स्थानमा बुद्धका अस्तुधातु भेटाएका थिए । पछि ब्रिटिशहरुले भारतको बिभिन्न स्थानहरुमा उत्खनन् गरी उक्त अस्तुधातुहरुलाई संसार भरी फैलाए । हाल बर्मामा रहेको बुद्धको अस्तुधातु पाकिस्तानबाट र श्रीलंकमा रहेको अस्तुधातु शाक्यहरुको राज्य कपिल्बस्तुबाट लागिएको ईतिहास भेटिन्छ ।

रामग्राम जस्ता अत्यन्तै दुर्लव र पुरातत्विक धार्मिक सांस्कृतिक महत्व बोकेको संरचनाको संरक्षण, सम्बर्धन र प्रबर्धन गर्नु राज्यको ठुलो दायित्व हो । राज्यले यस्ता पवित्र र महत्वपूर्ण संरचनाहरुको संरक्षण, सम्वर्धन र प्रवर्धन गरी विश्वका करोडौको संख्यामा तिर्थयात्राीहरुलाई आकर्षण गराई धार्मिक पर्यटनको बिकास गरी देशको बिकासको मुहार फेर्न सकिन्छ । धेरै वर्षसम्म यो संरचनालाई ओझेलमा पारिएको देखिन्छ । यो स्तूप र यस असपसको क्षेत्रको बिकासतर्फ राज्य र सम्बन्धित निकायले खासै महत्व दिएको देखिन्दैन । बुद्ध नेपालको लुम्बिनीमा जन्मे पनि बुद्धलाई नेपालले बुझ्न सकेको देखिन्दैन । सन् २०२३ मा लुम्बिनी बिकास कोषले रामग्राम स्तूप रहेको क्षेत्रमा बिहार, स्तूप र अन्य संरचना निर्माण गर्नको लागि करीब १२० बिघा क्षेत्र सिङ्गापुरका मोक्ष फाउन्डेसन र नेपालका प्रोमिस ल्यान्ड नामक दुई निजी कम्पनीलाई ९९ बर्षसम्मको लागि लिजमा दिने निर्णय गरेका थिए । उक्त निर्णयको स्थानीय बासिन्दा र केही राजनीतिककर्मीहरुले बिरोध गरेको देखिन्छ । यदी राज्यले गर्न नसकेको अवस्थामा निजी क्षेत्रमार्फत यस क्षेत्रको बिकास गराउँदा खासै बेफाईदा देखिंदैन । यो क्षेत्र युनेस्कोको विश्व सम्पदाको संभावित सूचीमा समेत परेको स्थान भएकोले कुनै पनि स्तरबाट बिकास गराउँदा युनेस्कोको विश्व सम्पदा सूची सम्बन्धी मापदण्डलाई पूर्ण पालना गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  २ : ४८ बजे