४ असार २०८१, सोमबार | Mon Jun 17 2024

सिरोहियालाई तीन दिन हिरासतमा राख्न अनुमति, सम्पादकहरुको पत्र प्रधानमन्त्रीलाई



नागरिकता कीर्ते गरेको आरोपमा अनुसन्धानका लागि पक्राउ गरिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

जिल्ला अदालत धनुषाले उनलाई ३ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो । प्रहरीले भने जिल्ला सरकारी वकिल कार्यालयमार्फत सिरोहियालाई ५ दिन हिरासतमा राख्न माग गरेको थियो । तर जिल्ला न्यायाधीश चुडामन खड्काको इजलासले प्रहरीलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

सिरोहियालाई काठमाडौं मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेर जनकपुर पुर्याएको थियो । उनको नाममा रहेको नागरिकताको नम्बर अर्को ब्यक्तिको नम्बरसँग मेल खाएको, उनले नागरिकता लिंदा जिल्ला प्रशासनमा बुझाएको कागजात आपूर्ण भेटिएको लगायतका आरोप उनलाई लगाइएको छ ।

तर संसदका विपक्षी दल, नागरिक समाज, मिडिया सम्बद्ध संघसंस्थाहरु, नेपाल बार एसोसिएसनलगायतले भने गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरणमा समाचार लेखेको कारण प्रतिशोध साँध्न पक्राउ गराएको बताउँदै विरोध गरेका छन् ।

सम्पादकहरुको पत्र प्रधानमन्त्रीलाई, रविमाथी छानविन गर

यसैबीच विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूको संयुक्त भेलाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्धको धरपकड र कान्तिपुर मुख्यालयमा प्रहरी प्रवेश घटनालाई प्रेसमा दबाब र त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको बताएको छ ।

साथै उनीहरुले गृहमन्त्री रवि लामिछानेलाई राहदानी कसुरमा कारबाही गर्न पनि माग गरेको छ । भेलाले प्रधानमन्त्रीलाई ध्यानाकर्षणपत्र पठाउँदै सहकारीको रकम हिनामिना प्रकरण पनि गृहमन्त्री लामिछानेले सत्ताको प्रयोग गरेर दबाएकाले त्यसको अनुसन्धान अगाडि बढाउने वातावरण बनाउन आग्रह गरेको छ ।

ध्यानाकर्षणपत्रको पूर्णपाठ:

सम्माननीय प्रधानमन्त्रीज्यू, नेपालका प्रमुख सञ्चार माध्यममा कार्यरत हामी सम्पादकहरू पछिल्लोपटक सञ्चार गृहमा भएको धरपकडका सम्बन्धमा निम्न विषयहरूमा तपाईंको ध्यानाकृष्ट गर्न चाहन्छौंः

१. कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले उनकै कार्यकक्षबाट मंगलबार गिरफ्तार गरेको छ । नेपालको कानुन सबै नागरिकले समान रूपमा पालना गर्नुपर्छ र सिरोहियाले कानुनविपरीत कुनै पनि काम गरेका भए कानुनले तोकेबमोजिम सजाय भोग्नुपर्छ । यसका लागि आफू तयार रहेको सिरोहिया स्वयंले पनि सार्वजनिक रूपमै बताइसकेका छन् ।

२. जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ । कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं । उनलाई लगाइएका आरोपबारे सरकारी निकायले कहिल्यै सोधपुछ गरेको छैन । हिजो एक्कासि उनलाई नागरिकतासँग जोडिएका केही प्राविधिक विषयलाई लिएर गिरफ्तार गरिएको छ । यो विषय अब अदालतले नै निरूपण गर्नेछ ।

३. प्रधानमन्त्रीज्यू, हामी तपाईंलाई स्मरण गराउन चाहन्छौं- तपाईंको सरकारमा पहिलोपटक गृहमन्त्री बन्दा रवि लामिछाने नेपालका नागरिक थिएनन् र उनले विदेशी राहदानी बोकेका थिए । अदालतको फैसलापछि उनले नेपालको नागरिकता पुनः प्राप्त गरेका भए पनि एकैपटक दुई देशको राहदानी बोकेको गम्भीर कसुरमा उनी सजायका भागीदार थिए र छन् ।

४. गृहमन्त्री रवि लामिछाने अहिले मिडियामाथि किन शत्रुभावका साथ जाइलागेका छन् भन्ने पनि हामी स्पष्ट गर्न चाहन्छौं । सहकारी ठगीको समस्या विकराल बनेको छ । अहिले लाखौं नेपालीले सहकारीमा बचत गरेको अर्बौं रूपैयाँ अपचलनमा परेको छ र उनीहरूले आफ्नै पैसा फिर्ता पाएका छैनन् । गृहमन्त्री रवि लामिछाने स्वयं र उनी पहिले साझेदार रहेको गोर्खा मिडिया नेटवर्कले विभिन्न सहकारीमा आममानिसले राखेको करिब एक अर्ब रुपैयाँ अपचलन गरेका समाचार मिडियाले निरन्तर लेखिरहेका छन् । मिडियाले लेखेका यिनै समाचारलाई उनले गरिमामय संसदमा उभिएर आफूमाथि ‘मिडिया ट्रायल’ भएको बताएका छन् । जबकि पालिका तहमा भएका छानबिन र स्वयं नेपाल प्रहरीको सिआइबीले गरेका छानबिनले उनी र उनी सञ्चालक रहेको मिडिया कम्पनीले सहकारीको रकम हिनामिना गरेको स्थापित गरेका छन् । सत्ता दुरुपयोग गरेर आफूमाथि अभियोजन हुने र मुद्दा लाग्ने कुरालाई गृहमन्त्रीले रोकेका छन् । हामी यसबारे पनि प्रधानमन्त्रीको ध्यानाकृष्ट गराउन चाहन्छौं र उनीमाथि प्रहरीले गरिरहेको छानबिन निष्पक्षतापूर्वक अघि बढाउने र मुद्दाको निष्पक्षतापूर्वक अभियोजन हुने वातावरण बनाउनु तपाईंको जिम्मेवारी रहेको स्मरण गराउँछौं ।

५. नेपाली सञ्चार जगत्‌मा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं । र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं ।

प्रतीक प्रधान – बाह्रखरी
शिव गाउँले – अनलाइनखबर
अमित ढकाल – सेतोपाटी
किरण नेपाल – खोज पत्रकारिता केन्द्र
युवराज घिमिरे – देशसञ्चार
सुधीर शर्मा
मदन लम्साल – अभियान
विमल गौतम – लोकान्तर
सागर पण्डित – नेपाल समाचारपत्र
राजाराम गौतम
सुजित महत – उकालो
पूर्ण बस्नेत – नेपालखबर
बसन्त बस्नेत – अनलाइनखबर
हरिबहादुर थापा – बाह्रखरी
उमेश चौहान- कान्तिपुर
रामेश्वर बोहरा – उकालो
कोषराज कोइराला – रिपब्लिका दैनिक
गुणराज लुइँटेल – नागरिक दैनिक
रुपेश श्रेष्ठ – कान्तिपुर टीभी
अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट
विश्वास बराल – द काठमान्डु पोस्ट
सरोज मिश्र – राजधानी दैनिक
अरुण बराल – खबरहब
कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस
प्रकाश रिमाल
कसमस विश्वकर्मा
सञ्जीव सतगैयां
विजय पौडेल – कान्तिपुर टीभी
रामप्रसाद दाहाल – रातोपाटी
दुर्गा खनाल – इकान्तिपुर
पुष्प दुलाल- क्लिकमान्डु

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ४ : २४ बजे