८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प ३४ फौजदारी मुद्दामा दोषी ठहर



अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प ३४ वटा अपराधिक कसुरमा दोषी ठहर भएका छन् । उनलाई बिहीबार न्यू योर्कको एक अदालतले दोषी ठहर गरेको हो ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार उनी अमेरिकी इतिहासमै जघन्य आरोप लागेर पुष्टि भएका पहिलो पूर्वराष्ट्रपति बनेका छन् । म्यानहटन ज्यूरीले दुई दिन गरी ९ घन्टाको बहस सुनेपछि ट्रम्पलाई दोषी ठहर गरेको बताइएको छ ।

दोषी ठहर भएपनि उनलाई के कस्तो सजाय हुने भन्ने बारेमा न्यायाधीश जुआन एम. मर्चनले जुलाई ११ मा आदेश गर्ने छन् । अदालतको फैसलापछि ट्रम्प आक्रोशित देखिएका थिए । उनले फैसला प्रतिशोधपूर्ण बताएका छन् । उनले यसको जवाफ आगामी नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा अमेरिकी जनताले दिने समेत बताए ।

सन् २०१६ को राष्ट्रपति चुनावताका पोर्नस्टार स्टोर्मी ड्यानियल्सले ट्रम्पले आफूसँग यौन सम्बन्ध राखेको र घटना सार्वजनिक नगर्न भन्दै पैसा दिएको आरोप लगाएकी थिइन् । साथै ड्यानियल्सलाई दिएको पैसाको हिसाबकिताब लुकाउन ट्रम्पले व्यावसायिक अभिलेखहरूमा किर्ते गरेको आरोप लागेको थियो । ड्यानियल्सले २०१६ को चुनावअघि ट्रम्पका वकिल माइकल कोहेनले १ लाख ३० हजार अमेरिकी डलर दिएको दाबी गर्दै आएकी छिन् । कोहेन अहिले विभिन्न मुद्दामा जेलमै रहेका छन् । मुद्दाका क्रममा स्टोर्मी ड्यानियल्ससहित २२ जना प्रत्यक्षदर्शीसँग अदालतले बयान लिएको बताइएको छ ।

ड्यानियल्सले सन् २००७ मा भएको गल्फ प्रतियोगिताका क्रममा ट्रम्पले यौन सम्बन्धको प्रस्ताव राखेको बताएकी छिन् । ट्रम्पले आफूलाई सँगै खाना खानका लागि निम्तो दिए पनि आफूले सुरुमा अस्वीकार गरेको र आफ्ना पब्लिसिस्टले जान भनेपछि गएको उनको भनाइ छ । त्यतिबेला ट्रम्पपत्नी मेलानिया सुत्केरी भएकाले प्रतियोगितास्थलमा नआएको उनको दाबी छ । सहमतिमै यौन सम्बन्ध भए पनि ट्रम्पले झगडा गरेको र असुरक्षित सम्बन्ध राखेको ड्यानियल्सको दाबी छ ।

अगामी नोभेम्बरमा हुने राष्ट्रपति चुनावका लागि रिपब्लिकन पार्टीको तर्फबाट ट्रम्प उम्मेदबार हुने पक्कापक्की नै छ । अदालतले दोषी ठहर गरेपनि उनलाई उम्मेदवार हुन भने अमेरिकी कानुनले नरोक्ने बताइएको छ ।

प्रकाशित मिति : १८ जेष्ठ २०८१, शुक्रबार  १२ : ०५ बजे